यी हुन बिजुलीका वीर

सुरेश पौडेल | २०७१ मङ्शिर ६ शनिबार 15205 पटक पढिएको

यस वर्ष दीपावलीमा उत्सवबत्ती नबाल्नू भन्ने नेपाल विद्युत् प्राधिकरणको उर्दी नेपालीहरूबाट अस्वीकारमात्र भएन बरु तिहारपछि पनि कतिपय घर झिलमिलाई रहे। बेलुका दरबारमार्गतिर गए देखिन्छ, बिजुली बत्तीको झिलिमिली। 
 
लोडसेडिङ आरम्भ भएपछि विगत एक दशकभन्दा बढीदेखि नेपालीले मन फुकाएर विद्युत् उपभोग गर्न पाएका छैनन्, चौतर्फी कष्ट बेहोर्दै आएका छन्। हामी आफूलाई जलस्रोतको दोस्रो धनी देश भन्नमा औधी आनन्द मान्छौं। 
 
पूर्वपश्चिम विद्युतीय रेल कुदाउने र विदेशमा बिजुली बेचेर धनी बन्ने सपना देख्छौं, देखाइरहन्छौ तर सय वर्षमा जेनतेन हजार मेगावाटमात्र विद्युत् उत्पादन गर्न सकेकोमा ग्लानि महसुस गर्दैनौं बरु विभिन्न राजनीतिक कालखण्ड, अघिल्लो सरकार र त्यसका मन्त्रीहरूलाई दोष दिन्छौं। 
तर हाम्रै देशमा एउटा गाउँ वर्षौंदेखि विद्युत्मा आत्मनिर्भर रहँदै आएको छ। बाँकी देशले जस्तो यो गाउँले लोडसेडिङ भोग्नु परेको छैन। त्यो बेला गोरखा जिल्लामा विद्युत् नै पुगेको थिएन तर एक दूरदर्शी उद्यमीको प्रयासले २०४८ सालदेखि नै बारपाक गाउँ झिलिमिली देखिन्थ्यो। 
 
बारपाक, भीसी गजे घलेको जन्मस्थल, अझै पनि उनको उपलब्धिमा गर्वले छाती फुलाउँछ बारपाक। त्यसैले वीरबहादुर घले पुस्तालाई लाहुरे बन्न ऊर्जा प्राप्त हुने नै भयो। लाहुरेहरूको गाउँ भएकाले सुरुमा उनलाई पनि परिवारबाट सेनामा भर्ती हुन भनियो। 
 
वीरबहादुर लाहुरे बन्ने केही चरण पार गर्दै पोखरासम्म पुगे। त्यसपछि उनी लागे व्यापारमा। हङकङबाट समान ल्याउने, नेपालमा बेच्ने। हङकङमा बिजुलीबत्तीको झिलिमिलीमा वीरबहादुर निकै रत्तिए। आफ्नो देशमा पनि यस्तै झिलिमिली हेर्न चाहन्थे उनी तर चाहेरमात्र के पो हुन्छ?
 
कसले झिलिमिली बनाइदिने आफ्नो देशलाई? जहाँ गएर काम गरे पनि उनलाई हङकङको झिलिमिलीले पछ्याइरह्यो। त्यसैले गरिरहेको काम छाडेर उनी लागे बिजुली बाल्ने अभियानमा। 
 
डाँडाको टुप्पोमा उनको अँध्यारो गाउँ बारपाक र बिजुली निकाल्न तल घट्टेखोला छँदै थियो। अहिले यातायात सञ्चालन हुनसक्ने कच्ची बाटो पुगेको भए पनि त्यति बेला हिँडेरै बारपाक पुग्नुपर्थ्‍यो । 
 
विद्युत् उत्पादनका लागि आवश्यक उपकरण, पोल र तार त्यहाँसम्म पु:याउन सजिलो थिएन। चार खेप त सेनाको हेलिकोप्टर नै प्रयोग गरियो, काँधमा सामान बोक्ने मानिसको त हिसाबै भएन- वीरबहादुर सम्झन्छन्। 
 
२०४८ सालदेखि उत्पादन थालेको बारपाक ग्रामीण विद्युतीकरण प्रालिले उत्पादित एक सय ४० किलोवाट विद्युत् तीन सय १० वटा पोलमा तानिएका एक सय १० किलोमिटर तारमार्फत गाविसको ३ नम्बरबाहेक सबै वडाका बाह्र सय घर तथा सडकबत्तीका लागि आपूर्ति गर्दै आएको छ। 
 
एक सय ४० किलोवाट विद्युत् रातमा पूरै खपत हुन्छ भने दिनमा पनि बढीभन्दा बढी खपत होस् भनेर स्थानीयस्तरमा सञ्चालित सबै उद्योगमा आपूर्ति गरिएको छ। 
 
अन्य समयमा पनि विद्युत्गृहलाई भार पुर्‍याउन गाउँमा चल्नसक्ने साना उद्योगधन्दा स्थापना गर्न प्रोत्साहित गरेकैले अहिले बारपाकमा गहुँ पिस्ने चारवटा मिल, दुई फर्निचर उद्योग र एउटा हाइभिजन हल सञ्चालित छ। यी उद्योगमा आपूर्ति गर्दा पनि पूरा विद्युत् खपत हुन सकेको थिएन। 
 
पछि बारपाकमै ठड्याइएका नेपाल टेलिकम, एनसेल, स्मार्ट फोन, एसटीएम र हेलो नेपालजस्ता दूरसञ्चार कम्पनीका टावरहरूमा समेत आपूर्ति गरेर विद्युत्गृहमा भार पु:याइएको छ। यस्ता टावरहरूमा आपूर्ति गरिने विद्युत्ले २४ घन्टासम्मको पावर ब्याकअप पुग्ने गरी ब्याट्री रिचार्ज गर्छ। 
 
परियोजनालाई कुल आम्दानीको २० प्रतिशत यिनै टेलिफोन कम्पनीहरूबाट प्राप्त हुन्छ। घरायसी प्रयोगमा एक घरले प्रतियुनिट सात रुपैयाँका दरले बढीमा एक सय ५० युनिट खपत गर्न पाउँछन् तर हिटर प्रयोगकर्ताले बढी शुल्क तिर्नुपर्ने हुन्छ। 
 
त्यस्तै राति १२ बजेपछि प्रतियुनिट तीन रुपैयाँका दरले उपभोग गर्न पाउने गरी बेकरी उद्योगमा आपूर्ति गरिएको छ। अन्य समयमा व्यापारिक प्रयोजनका लागि विद्युत् खपत गर्नेहरूले प्रतियुनिट १० रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्ता लघुजलविद्युत् आयोजनाहरू करमुक्त छन्। 
 
बिजुली बत्तीको रहर अनि त्यही रहर पूरा गर्न पावरहाउस नै निर्माण गरेर घरघरलाई उज्यालो पार्ने सपना धेरैले देख्न सक्लान् तर कार्यान्वयन गर्ने जमर्को कमैलेमात्र गर्न सक्छन्। वीरबहादुरले आँट गरे, हेर्दाहेर्दै उनको रहर बारपाकको रहर बन्यो अनि त्यही रहर उनको पेसा बन्यो। 
 
विद्युत् उत्पादनसम्बन्धी कुनै औपचारिक डिग्री वीरबहादुरसँग छैन तर लघुजलविद्युत्का लागि उनी विज्ञ मानिन्छन् र आज देशका १६ जिल्लामा उनको कम्पनी हाइड्रो इनर्जी कन्सर्न कार्यरत छ। 
 
आफ्नो यही उदाहरणीय कर्मका लागि वीरबहादुर प्रख्यात अशोका फेलोद्वारा सम्मानित भएका छन्। उनको अनुभवले भन्छ- रातिमात्र खपत गर्ने घरहरूलाई विद्युत् आपूर्ति गरेर लघुजलविद्युत् दिगो हुन सम्भव छैन, उत्पादित विद्युत् दिनमा पनि पूरै क्षमतामा खपत भइरहन उत्तिकै आवश्यक छ। 
 
समयक्रमसँगै बारपाकमा घरहरू थपिँदै जाँदा अहिले राति उत्पादित पूरा विद्युत् खपत हुँदै आएको छ। अब बारपाकमा एकदुई घर थपिँदामात्र पनि विद्युत्गृहले धान्न नसक्ने हो कि भन्ने चिन्ता वीरबहादुरलाई छ। त्यसो भएमा आफूसँग अर्को योजना तयार रहेको उनले बताए। 
 
दरौंदी खोलामा अहिलेभन्दा बढी क्षमताको अर्को विद्युत्गृह थप्ने र त्यसबाट उत्पादित विद्युत् बारपाकदेखि माथि पुजुकंग डाँडासम्म पु:याइने केबलकारका लागि खपत गर्ने। 
 
'बारपाकबाट पर्यटकहरू केबलकार हुँदै पुजुकंगसम्म पुगेर त्यहाँ स्थापना हुने रिजोर्टमा एक रात नबिताई सूर्योदयको आनन्द नै नलिईकन के फर्कलान् र?', वीरबहादुर तर्क गर्छन्। 
 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame