'थप्पड खाईखाई बनेको कलाकार हुँ'

रामकला खड्का | २०७३ जेष्ठ २१ शुक्रबार 46489 पटक पढिएको

फोटो :गौरी मल्ल
सेलिब्रेटी सम्झना
चलचित्रमा आउनुमा मेरी दिज्यूकी जेठानी स्व. इनु सिंहको सबभन्दा ठूलो हात छ। उहाँ र मेरो परिवारले चलचित्रमा काम गर नभनेका भए म कलाकार हुने सम्भावना थिएन किनकि त्यति बेला कलाकार बन्ने मेरो रुचि नै थिएन। इनु दिज्यूमार्फत मैले बसुन्धरा दिज्यूलाई भेट्ने मौका पाएँ। उहाँले निर्देशक प्रकाश थापासँग भेट गराइदिनुभयो।
 
चलचित्र कान्छीका निर्माता भगवान्दास  श्रेष्ठले आफ्नो नयाँ चलचित्र सन्तानका लागि कलाकार खोजिरहेका छन् भन्ने खबर मैले उहाँहरूबाट पाएँ। परिवारले कर गरेकाले स्क्रिन टेस्ट दिन क्षेत्रपाटीस्थित ओम प्रोडक्सनको कार्यालय पुगेँ। त्यहाँ मैले करिश्मा मानन्धर, प्रकाश अधिकारी, भरत शर्मालगायतका कलाकारलाई भेटेँ। त्यति बेला म १६, १७ वर्षको मात्रै थिएँ।
 
बुवाको सरुवा पाल्पामा भएकाले म पाल्पा कलेजमा कमर्स पढ्दै थिएँ। काठमाडौंमा स्वास्थ्य परीक्षण गर्न आउँदै जाँदै गर्ने क्रममा रुचि नभएको विषयमा मलाई भाग्यले डोर्यायो। त्यसपछि पढाइ पनि छुट्यो। म पूर्ण रूपमा कला क्षेत्रमा लागेँ। 
 
ओम प्रोडक्सनले कलाकार छानिसकेपछि कहिले लुगा नाप्न बोलाउँथ्यो त कहिले मेकअप टेस्ट गर्न। यही क्रममा करिश्माजीसँग भेट भइरहन्थ्यो। उहाँ र मेरो डेब्यु चलचित्र एउटै भएकाले हाम्रो सम्बन्ध त्यति बेलादेखिकै हो।
 
मेरो पहिलो सट क्लोजअप थियो। बुवा बिरामी भएर अस्पतालमा राखिएको थियो। बुवाको भूमिकामा नारायणघाटका कलाकार रिद्धिचरण श्रेष्ठ हुनुहुन्थ्यो। सँगै नायक अर्जुनजंग शाही र चिकित्सक पनि थिए। त्यो दृश्यमा संवाद थिएन। 
 
मैले हर्लिक्स लगेर मुसुक्क हाँस्दै बुवालाई दिनुपर्ने थियो। त्यसैअनुसार गरेँ र पहिलो टेकमै ओके भयो। निर्माता भवानीदासको घर पनि नारायणघाट नै भएकाले चलचित्रको अधिकांश सुटिङ त्यहीँ भएको थियो। केही प्रतिशत पोखरामा भएको थियो।
 
म वन टेक आर्टिस्ट हुँ। सायद पहिलो जुनीमा पनि कलाकार नै थिएँ होला। मलाई कहिल्यै क्यामरा देखेर डर र लाज लागेन। बिना कुनै तालिम निर्देशकले सिकाएअनुसार अभिनय गर्दै गएँ। टेक ओके हुँदै गयो। एक दिन एउटा रोमान्टिक सिन गर्नुपर्ने थियो। 
 
'इसाराले नबुझ्ने खै तिमीलाई म के भनूँ' बोलको गीतको छायांकन हुनुअगाडि नायकसँग बसेर प्रकृति पनि कति खुसी छ भनेर भन्नुपर्ने थियो। त्यति बेला मेरो घाँटी बसिरहेकाले स्वर सुकेको थियो। मैले अभिनय गर्दा फेसियल एक्सप्रेसन एकातिर स्वर अर्कोतिरज भएको देखेर सेटका सबै मरिमरि हाँसिरहेका थिए।
एक पटक 'हिमाललाई साक्षी राखी' गीतको छायांकनका लागि सराङकोट गएका थियौं। त्यति बेला गाडी नजाने हुनाले हिँडेर जानुपथ्र्यो। हामी होटेलमै मेकअप गरेर जान्थ्यौं। मेकअप गर्न बिहान ३ बजे उठ्नुपर्थ्यो। 
छायांकन सकाएर घर जाने बेलामा त्यहाँ रुवाबासी नै हुन्थ्यो। यति धेरै दिन सँगै बसेर काम गर्दा सबै परिवारझैँ लाग्थ्यो र छाडेर जान गाह्रो हुन्थ्यो।
सुत्न नपाइने हुँदा किन यस्तो गर्नु परेको होला भन्ने लाग्थ्यो। त्यति बेला हिँडेर ५ बजे सराङकोट पुगी सूर्योदयको दृश्य छायांकन गरिन्थ्यो। मैले नृत्य नसिकेकाले ममा डान्स सेन्स थिएन। तर पनि समस्या भएन।
 
भारतीय नायिका रेखाको मुज्रा गराउने चर्चित नृत्य निर्देशक माधव किसन नृत्य सिकाउन आउनुभएको थियो। उहाँले बेलुकी खाना खानुअगाडि हामीलाई कोठामा रिहर्सल गराउनुहुन्थ्यो। छायांकनका लागि अहिलेजस्तै ४५/६० दिनकै प्याकेज हुन्थ्यो। 
 
चलचित्रमा मेरो भूमिका तराईको एउटा धनी परिवारकी छोरीको थियो भने करिश्माजी काठमाडौंकी। छायांकन सकाएर घर जाने बेलामा त्यहाँ रुवाबासी नै हुन्थ्यो। यति धेरै दिन सँगै बसेर काम गर्दा सबै परिवारझैँ लाग्थ्यो र छाडेर जान गाह्रो हुन्थ्यो।
 
छायांकनमा मैले निर्देशकको गालीमात्रै होइन, कुटाइ पनि खाएको छु। एक दिन रामपुर कलेजको एउटा दृश्यको छायांकनमा कृष्टि मैनाली र अर्को एक कलाकारको छायांकन भइरहेको थियो। निर्देशक थापाले मलाई उहाँहरूको अभियन हेरेर बस्नू भन्नुभएको थियो।
 
मैले एकछिन त हेरेँ तर एउटै दृश्य हेर्दाहेर्दा अल्छी लाग्यो। नजिकै बसेर बदाम, फलफूल खाइरहेका भगवान् दाइ, मुमालगायतलाई देखेर मलाई पनि त्यहाँ गएर खान मन लाग्यो। 
 
म टुसुक्क बसेर बदाम छोडाउनमात्रै के लागेको थिएँ, पछाडिबाट आएर निर्देशकज्यूले ढाडमा हान्नुभयो र यहाँ पिकनिक गर्न बोलाएको कि सुटिङ हेर्न भनेर गाली गर्नुभयो। चलचित्र 'कन्यादान'को एउटा गीतको छायांकनमा पनि मैले मादव किसन मास्टर साबको कुटाइ खाएको छु। त्यसैले म थप्पड खाईखाई बनेको कलाकार हुँ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame