भूकम्पको झटपट झोला

दिनमान गुर्मछान | २०७३ जेष्ठ २३ आईतवार 2117 पटक पढिएको

कथा
सम्भव स्कुलबाट फर्किएर आफ्नो कोठामा पसे । बोकेको झोला ओछ्यानमा राख्दै आमालाई बोलाए, ‘आमा, मलाई साह्रै भोक लागेको छ । खाजा दिनुस् है !’
 
उता भान्सामा काम गरिरहनुभएको आमाले भन्नुभयो, ‘हातमुख धोएर भान्सामै आऊ । खाजा तयार छ ।’ भोकाएका सम्भव यो सुनेर हतारिँदै हातमुख धोएर भान्सामा पुगे । उनी हतारिँदै भान्सामा पसेका देखेर आमाले भन्नुभयो, ‘यसरी हतारिएर हिँड्नु हुँदैन लडिन्छ ।’
 
आमाले यति भन्नु भएपछि उनले दिउँसो स्कुलमा सरले पढाउनु भएको सम्झिए । खासगरी भुइँचालो जाँदा कहिल्यै हत्तारिएर दौडिनु हुँदैन । अरूबेला पनि दौडनु राम्रो होइन । सरले यस्तै भन्नुभएको थियो । आमाले खाजा टेबलमा राखिदिनु भयो । सम्भवले मीठो मानेर खाए ।
 
खाएपछि हात धोएर उनी आफ्नो कोठामा गए । गृहकार्य सके । समय बाँकी नै थियो । अब के गर्ने भनेर उनले सोचे । दिउँसो सरले पढाउनु भएको सम्झिए । उनी जुरुक्क उठे । यताउति खोजेजस्तो गर्न थाले । धुइँपताल खोजे । बल्ल उनले खोजेको चिज पाए । उनको अनुहारमा खुसी छाएको थियो । उनको हातमा अहिले भने एउटा ठूलो झोला थियो । रातो रङको झोलामा लागेको धुलो उनले टकटकाउन थाले । यतिबेला भने उनको मनमा निक्कै योजना बनेको थियो । उनी आफ्नो योजनाअनुरूप सामानको खोजीमा लागे ।
 
केहीबेरमा उनले टेबलमा धेरै कुरा जम्मा गरिसकेका थिए । चिउरा, चाउचाउ, बिस्कुटलगायतका खानेकुरा टेबलमा राखे । पानीको बोतल, पानी सफा गर्ने ट्याब्लेट क्लोरिन पनि राखे । केही सम्झेजस्तै गरे । खुर्र गएर उनले घरमा भएको एक्स्ट्रा टर्च लाइट ल्याए । रुमाल र तन्ना पनि खोजेर ल्याए ।
 
‘आमा, मलाई दालमोठ दिनुस् न !’ उनले भान्सामा गएर आमासँग चिउरा मागेझैं दालमोठ पनि मागे । छोराले आज सामानहरू मागेको देखेर आमा छक्क पर्नुभयो र सोध्नुभयो, ‘फेरि दालमोठ किन चाहियो नि ? ’
 
‘म झटपट झोला तयार गर्दैछु क्या ! स्कुलमा सरले आज पढाउनुभएको, हाम्रोजस्तो भूकम्पको जोखिममा रहेको देशका नागरिक पहिले नै सचेत हुन जरुरी छ रे ! कुनबेला भुइँचालो जान्छ थाहा हुन्न । तर, बेलैमा झटपट झोला चाहिँ तयार गरेको राम्रो हो ।’ सम्भवले आमालाई सम्झाउन थाले ।
 
आमालाई अचम्म लाग्यो । ‘आँ ! बित्थामा यो काम किन गरिराखेको होला ? ’ उहाँले भन्नुभयो । उहाँलाई यो कुरा मन परेको चाहिँ थिएन । तर, सम्भवले भनेको कुरा चाहिँ दिनुभयो ।
 
सम्भवले स्कुलमा राम्रोसँग बुझेका थिए । त्यसैले पनि उनी यो काममा लागिपरेका थिए । उनले झोलामा चाहिने सम्भव भएसम्मका कुराहरू राखे । झटपट झोला तयार भएपछि उनी निक्कै खुसी भए ।
 
झोलालाई उनले सबैले देख्ने ठाउँमा राखे । जसलाई दिनहुँ उनले हेर्ने गर्थे । हप्तादिनमा उनले त्यसमा भएका खानेकुरा झिकेर अर्काे राखिदिन्थे । उनले खानेकुरा बिग्रेको छ कि छैन भनेर ध्यान दिइरहन्थे । यो प्रक्रिया दिनहुँ हुन थाल्यो । यी सबै कुरा स्कुलमा सरले सिकाउनु भएको थियो ।
 
यसैगरी दिन बित्दै गयो । एकदिन अचानक घर हल्लिन थाल्यो । कोठामा भएका सामानहरू यता र उता गर्न थाले । यो देखेर सम्भवको आमाले ‘भुइँचालो आयो’ भनेर चिच्याउन थाल्नुभयो । शनिबारको दिन भएकाले सम्भव पनि घरमै थिए । उनको बुवा पनि घरमै हुनुहुन्थ्यो ।
 
सम्भवका बुवाआमा उनलाई लिन हत्तारिँदै कोठामा आउनुभयो । सम्भव चित्र बनाउँदै थिए । बुवाआमाले भन्नुभएपछि उनले पनि भुइँचालो आएको थाहा पाए । तर उनी अत्तालिएनन् । स्कुलमा सरले पढाउनु भएको थियो, यस्तो बेला अत्तालिनु हुँदैन । उनले सम्झिए ।
 
घर मज्जाले हल्लिन थाल्यो । सम्भव बुवाआमासँग बाहिर निस्किन लागे । त्यहीँबेला उनले झटपट झोला सम्झिए । उनले झोला बाहिर निस्किने ठाउँमै बरण्डामा राखेका थिए । उनले झटपट झोला बोके । उनका बुबाआमाले हतारमा चप्पल पनि लगाउन बिर्सिनुभयो । घरदेखि केही पर खाली चौरमा पुग्दानपुग्दै सम्भवको घर गल्र्याम्मै ढल्यो । सम्भवले फर्किएर आफ्नो घरतिर हेरे । घर आधा लडेको थियो ।
 
‘ला, हाम्रो घर लड्यो ’ सम्भवको आमा रुन थाल्नुभयो । सम्भवको बुवाले आमालाई सम्झाउन थाल्नुभयो । सम्भव भने हेरिरहन मात्र सक्यो । हेर्दाहेर्दै धेरै घर लडे । चारैतिर कोकोहोलो मच्चियो ।
 
भुइँचालो गएपछि दिनभर पराकम्पन गइरह्यो । सबै घरबाट बाहिर बस्न थाले । कोही पाल कस्न थाले । कोही छाप्रो बनाउन थाले । छिमेकीले बनाएको छाप्रोमा सम्भव र उनको बुवाआमा बस्ने भए ।
 
सम्भवले अहिलेसम्म झटपट झोला बोकिरहेकै थिए । जब साँझ प¥यो उनले झोलामा भएको सामान झिक्न थाले । उनले टर्चलाइट बुवालाई दिए । चिउरा, दालमोठ, चाउचाउ आमालाई दिए । उनले पुरानै भए पनि तन्ना राखेका थिए । त्यो पनि झिकेर आमालाई दिए । झटपट झोलामा भएकै सामानले तीन चार दिनलाई पुग्यो ।
 
बल्ल सम्भवका बुवाआमाले झटपट झोलाको महत्व बुझ्नुभयो । सम्भवलाई मायाले गम्लंग अँगाल्नुभयो ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame