बिरे र कुमारीको बाल श्रमविरुद्ध दिवस

कुसुम शर्मा | २०७३ जेष्ठ ३१ सोमबार 873 पटक पढिएको

'ए बिरे ! अझै इँटाको भारी पुर्याएको छैनस्। यति विस्तारै काम गरेर कहिले सक्छस् तैंले आजको कोटा पुर्याउन। चाँडैचाँडै बोक इँटा' चन्द्रे नाइकेले बिरेलाई हात लम्काउँदै हप्काए।
 
बिरे डराएर नरमाइलो मान्दै फटाफट इँटाको भारी बोकेर हिँडे। मैलो लुगा, महिनौं ननुहाएको कमजोर शरीर, धुलोले पटपट फुटेका हात र खुट्टा। अनि शरीरभन्दा अग्लो थियो इँटाको भारी ! 
 
वीरेलाई देख्दा जो कोहीलाई पनि लाग्छ मान्छेको जुनी पाएर पनि कति बिजोग छ उनको बाल्यकाल। उमेरले १२ वर्षका बिरेले परिवारबाट अलग्गिएर यसरी सहरका इँटाभट्टामा नाइकेमार्फत काम गर्न थालेका करिब चार वर्ष बितिसक्यो।
 
हुन त अरू केटाकेटीलाई जस्तो बिरेलाई पनि राम्रो लुगा लगाउने, विद्यालय जाने, साथीभाइसँग खेल्ने अनि बुवाआमासँग हात समाएर घुम्न जाने रहर छ। तर बिरेको व्यथा अर्कै छ। रोल्पाको विकट गाउँमा जन्मिएका बिरेका बुवाआमा दुवै शारीरिक रूपमा अशक्त छन्। त्यसैले उनीहरू काम गर्न सक्दैनन्। 
 
परिवारको जेठो छोरो बिरेको कमाइबाट उनको बुवाआमा तथा दुई साना बहिनीहरूले जेनतेन आफ्नो गुजारा चलाउँछन्। इँटाको काम सुरु हुनुअगावै नाइकेमार्फत लिएको पेस्कीले नै परिवारको दैनिक गुजारा, चाडबाड, औषधि खर्च चल्छ उनको। अनि परिवारले लिएको त्यही ऋण तिर्न बिरे घाम, पानी केही नभनी आफन्त कोही नभएको सहरको इँटाभट्टामा आफ्नो बाल्यकाल गुमाइरहेका छन्।
 
असिनपसिन भएर इँटाको भारी बिसाउन लाग्दा नजिकै बजेको रेडियोले बाल श्रमविरुद्ध विश्व दिवसको उपलक्ष्यमा हुन लागेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिँदै थियो। बिरे रेडियो नजिकै पुगे अनि ध्यान दिएर सुने। रेडियोका कुरा केही नबुझेपछि त्यहीँ इँटा बनाउन व्यस्त कुमारी दिदीलाई उनले सोधे, ' कुमारी दिदी यो रेडियोले भनेको बाल श्रमविरुद्ध विश्व दिवस के हो र ?' 
 
चर्को घाममा इँटा सुकाउन व्यस्त कुमारी दिदीले बिरेतिर नहेरिकन नै भनिन्,' खै बिरे म पनि त्यति जान्दिनँ। गाउँमा छँदा पनि केही थाहा भएन। तर अघि रेडियोमा सुनेअनुसार अन्तर्राष्ट्रिय श्रम संगठनको निकृष्ट बाल श्रमसम्वन्धी महासन्धि नं १८२ र  श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ लाई अनुमोदन गरेको स्मरणमा हरेक वर्ष १२ जुनलाई बाल श्रमविरुद्ध विश्व दिवसको रूपमा विश्वभरि नै मनाइने गरिन्छ रे। तर तँ र मजस्ताको लागि केको दिवस काम नगरी सुख छैन।'
 
'कुमारी दिदी तपाईं अनि मेरो लागि बाल श्रमविरुद्ध दिवस कहिले आउँछ ?' मलिन अनुहार लगाएर बिरेले पुनःप्रश्न गर्यो। कामको चटारोले फुर्सद नभएको बेला यो केटाले पनि के के सोध्छ के के भनेर झर्किंदै कुमारी दिदीले भनिन्, 'खै म १५ वर्षकी भएँ। अहिलेसम्म कहिले आएन। मलाई थाहा छैन।' यसो भन्दै कुमारी दिदी आफ्नो काममा लागिन्।
 
बिरे एक्लै टोहोलायो अनि मनमनै सोच्यो, 'कुमारी दिदी र मेरो लागि बाल श्रमविरुद्ध दिवस कहिले आउँछ होला।' (सत्य घटनामा आधारित यस कथाका पात्रहरूका नाम परिवर्तन गरिएको छ।)
       
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame