अम्बर गुरुङको एक उत्तरार्द्ध

संगीत श्रोता | २०७३ जेष्ठ ३१ सोमबार 17647 पटक पढिएको

म्झना
माछालाई ताल पनि, जाल पनि
म दुःखीलाई आउँदैन काल पनि!
 
२०६८ मंसिर २३ गते महाराजगन्ज, धारापाटी। अम्बर गुरुङ निवास। साँझ ५ बजेको छ। निजी निवासमा संगीतकार गुरुङ लोकगीतको यो पंक्ति सस्वर वाचेर सुनाउँदै हुन्छन्। साथमा छौं लोक गायनको तृष्णाले छटपटाइरहेको अञ्जानबाबु शर्मा र संगीत क्षेत्रमा पनि चासो देखाइहिँड्ने यो पंक्तिकार। 
 
डेढ घन्टासम्म कुराकानी चलिरहन्छ। गुरु अम्बर गुरुङ गम्भीर कुराकानीका बीच-बीचमा अरू पनि लोकगीतका गेडा सुनाउँछन्। नेपाली लोकगीतको शक्ति र त्यसले बोकेको दर्शनको मनहारी व्याख्या गर्छन्। त्यस्तो बेला उनले लोक संगीत र लोक संस्कृतिको संरक्षणको खाँचो समेत औंल्याइरहेका छन्, जुनबेला गणतन्त्र नेपालको सरकारले उनलाई नव स्थापित नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानमा कुलपतिको भूमिका दिएको छ।  पुरानो एक मात्र राजकीय प्रज्ञा प्रतिष्ठानको जागिरमा यी संगीतकारको तीन दशक व्यय भइसकेको हो र नयाँ प्रतिष्ठानको प्रमुख कार्यकारीमा पुग्दा जीवनकाल उत्तराद्र्धतिर ढल्किसकेको छ। तैपनि उनी आफू पनि लोकगीतका रहनी गुनगुनाउँदैछन् र हामीलाई समेत लोकगीत गाउन अनुरोध गर्दैछन्।
 
तर, त्यो काल त्यसै बितिगयो, जसरी उनको कुलपति कार्यकाल पनि ठूलो उपलब्धिबिनै बितिगयो, अनि 'सुखी' मान्छेका लागि पनि आज असाध्य-काल आइपुग्यो र एउटा प्रसिद्ध संगीतकर्मीलाई 'टप्प टिप्यो, लग्यो'। अब भने समय सालले नेपाली लोकगीत वा लोक संगीतको जगेर्नाको जिम्मा बाँच्नेहरूको काँधमा छाडिगएको छ।
 
मंगलबार बिहान (जेठ २५ गते) निधन भएपछि संगीतकार गुरुङको संगीत प्रवृत्तिबारे अनेक कोणबाट चर्चा भइरहेका छन् र उनको व्यक्तित्वबारे स्मरणहरू पनि चलिरहेका छन्। धेरैले उनको सांगीतिक विशेषताको चर्चा गर्दा पाश्चात्य संगीत-शास्त्र र पूर्वीय शास्त्रीय संगीत दुवैको ज्ञान राख्ने संगीतकारका रूपमा नाम लिने गरेका छन्। 
 
उनको पाँच दशकभन्दा लामो सांगीतिक जीवनका सिर्जनाहरूको शैली र सुरले त्यसको पुष्टि पनि गर्छन्। नेपालमा नेपालभित्रैको सांगीतिक विविधतामा पटक्कै ध्यान नदिने र फरक-फरक सांस्कृतिक समुदायका फरक-फरक सांगीतिक परम्पराको गहिराइतिर प्रवेश नै नगर्नेहरू 'ठूल्ठूला' गायक-संगीतकार कहलिन्छन्।
 
 राजा महेन्द्रको पञ्चायती राष्ट्रवादको एकपाखे सांस्कृतिक नीतिले अम्बर गुरुङलाई पनि नेपाली संगीतको मौलिक धुन खोजिहिँड्न सायद दिएन किनभने उनी महेन्द्रीय नीतिको अंग बन्न तयार भएर दार्जिलङबाट नेपाल आएका थिए। तैपनि जीवनले नेटो काट्नुअघि उनी आत्मसमीक्षा गर्ने मुडमा थिए।
 
'हाम्रा लोकगीत हाम्रो समाजका डायरी जस्ता रहेछन्, अब हामीले तिनै लोकगीतको जगेर्ना गर्नुपर्छ', साढे चार वर्षअघि आफ्नै निवासमा उनले भनेका थिए। कुनैबेला 'म लोकगीत गाउँदिन' भनेर पत्रिकालाई अन्तर्वार्ता दिएका यी संगीतकर्मीको प्रतिवादमा पारिजातले लेख नै लेखेकी थिइन्। 
 
पछि गुरुङले आफ्नो आशय त्यस्तो नभएको भन्दै जवाफ समेत दिनुपरेको थियो। एकपटक विदेशमा सांगीतिक प्रस्तुति लिएर जाँदा उनले गाएको गीत मन पराउने श्रोताले भेटेरै उनलाई भनेका रहेछन्, 'तपाईंले राम्रो गीत गाउनुभयो, तर सबै भारतीय गीत सुनाउनुभयो। हामीलाई नेपाली गीत नै सुन्न मन थियो।' 
 
त्यसपछि झन् उनी नेपाली गीतको पहिचान र मौलिकताबारे झसंग भए। पारिजातले त 'नौलाख तारा'जस्ता गीत लोकगीत बन्दैनन् भने त्यो अम्बर गुरुङको खसोखास असफलता हो भनेर समेत लेखेकी छन्। यी घटना-उपघटनाहरूले उनलाई पक्कै पनि झक्झकाए होलान्। र, अरू पनि त्यस्ता केही घटना हुँदा हुन्, जसले उनलाई जीवनको मैझारोतिर पुग्दा लोकगीततिर फर्कन प्रेरित गर्यो।
 
एकपटक विदेशमा सांगीतिक प्रस्तुति लिएर जाँदा उनले गाएको गीत मन पराउने श्रोताले भेटेरै उनलाई भनेका रहेछन्, 'तपाईंले राम्रो गीत गाउनुभयो, तर सबै भारतीय गीत सुनाउनुभयो। हामीलाई नेपाली गीत नै सुन्न मन थियो।' 
 
रुसी सांस्कृतिक चिन्तक ए.ए. झदानोभ भन्छन्, 'आफ्नै एकदमै समृद्ध संगीत-संस्कृति हुनेहरूले नै अन्य राष्ट्रहरूको संगीत समृद्धिको परख वा प्रशंसा गर्न सक्छन्। आफ्नो लोक जीवनलाई सम्मान र प्रेम नगरीकन संगीत वा अरू कुनै पनि क्षेत्रमा अन्तर्राष्ट्रियतावादी हुन असम्भव छ।' 
 
पश्चिमा संगीत शैलीका ज्ञाता मानिने गुरुङलाई नेपालको सांगीतिक विशेषताको अन्तर्राष्ट्रियकरण खड्केको विषय थियो, जुन उनले व्यक्तिगत स्तरमा पनि माथि उल्लेखित नमीठो संस्मरण सँगालेका थिए। तैपनि भन्नेहरू उनलाई अन्तर्राष्ट्रिय स्तरको संगीतकर्मी भन्थे, तर देशभित्रको मौलिक सांगीतिक संस्कृति समृद्ध हुन नपाएको उनलाई थाहा थियो। 
 
उनले यसको तत्वबोध गरेपछि पछिल्लो कालखण्डमा पटक-पटक नेपाली लोक संगीतको पक्षमा बोल्न थालेका थिए। प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदाका उनका प्राथमिक परियोजनाहरूमा लोक संगीतको अनुसन्धान गर्नु पनि एक थियो। नेपाली मौलिक धुनमा आधारित भएर वाद्यवृन्द (अर्केस्ट्रा) तयार गर्ने पनि उनको धोको थियो।
 
'संस्कृति भनेको कुनै दल वा नेताको मनमौजी गर्ने कुरा होइन', उनले त्यस भेटमा दोहोर्याएका थिए, 'यो त विश्वमा नेपालीको पहिचान दिने बहुमूल्य सम्पत्ति हो। त्यसमा पनि सबैभन्दा महत्वपूर्ण हाम्रो लोकगीत र लोक संस्कृति नै हो।' लोकगीतलाई पछिल्लो समयमा बजारको सतही र स्तरहीन वस्तु बनाइएको चाहिँ उनलाई मन परेको थिएन।
 
अहिले दोहोरीका नाममा एक खालको उच्छृंखलता आएको उनको निष्कर्ष थियो। 'शब्द र धुन दुवैको अहिले हत्या भइरहेको छ, बजारमा व्यावसायिकताका नाममा हाम्रो मौलिक लोकगीतलाई मारिँदैछ', उनले त्यही दिन भनेका कुरा सम्झनयोग्य छन्। उनले शास्त्रीय संगीतलाई व्याकरण र लोकगीतलाई आफ्नोपना भनेर अथ्र्याएका थिए।
 
आफ्नो जीवनको उत्कर्ष सिर्जना बनेको राष्ट्रिय गीतको धुनमा नेपाली बाजा मादल प्रयोग गर्नु र झ्याउरे शैलीको धुन तयार पार्नुलाई उनको लोक संगीततिरको टुसाउँदो प्रेम मान्न सकिन्छ। लोकतन्त्र बहालीसँगै अन्तरिम सरकारले नयाँ राष्ट्रिय गानको धुन बनाउने जिम्मा गुरुङलाई दिएपछि उक्त धुनमा नेपाली बाजा र नेपाली शैलीको लय होस् भनेर लोक संस्कृतिकर्मीहरूले व्यक्तिगत र सामूहिक प्रयत्नहरू गरेका थिए।
 
त्यसमध्येका एक नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले सोही प्रसंगमा यस पंक्तिकारसँग भनेका थिए, 'अम्बर गुरुङले हाम्रो आग्रहलाई महत्व दिनुभएको हामीलाई महसुस भएको थिएन।' तर पछि राष्ट्रिय धुनमा गुरुङले नेपाली तालबाजा मादलको (मादलको मात्रै ? ) झ्याउरे ताल प्रयोग गरे।
 
पाँच दशकभन्दा बढी संगीत साधना गरेका यी संगीतकर्मीले हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेको बताइएको छ। तैपनि जनस्तरमा स्थापित उनको परिचय कि त राष्ट्रिय गानको धुनका सर्जकका रूपमा छ, कि 'नौलाख तारा'जस्ता थोरै संख्याका लोकप्रिय गीतको स्रष्टाका रूपमा। 
 
भन्न त गुरुङलाई माथि भनिएजस्तो शास्त्रीय र पाश्चात्य शैलीका ज्ञाता भनिन्छ र यस्तै गीतलाई 'नेपाली संगीत' भन्ने गरिएको छ। तर जिन्दगीका अनेक परिघटनाहरूले धकेल्दै लैजाँदा र बोधको दायरा फुक्दै जाँदा जीवनको उत्तराद्र्धमा गुरुङ आफ्नो विगत समीक्षा गर्ने ठाउँमा पुगेका थिए। उनले गाएका वा संगीत गरेका सबै गीतमा कुन चाहिँ तत्व 'नेपाली' छ ?
 
 विदेशका श्रोताले किन उनका गीतलाई भारतीय भने ? यी प्रश्नहरूले सायद उनलाई नेपाली संगीतको जग लोक संगीत नै हो भन्ने निष्कर्षतिर उन्मुख गराएका थिए। धारापाटी निवासमा भएको त्यस भेटमा उनले आफ्नो सबैभन्दा ठूलो धोको दोहोर्याएर सुनाएका थिए— नाट्य संगीत प्रज्ञा प्रतिष्ठानबाट नेपाली लोकगीतको अनुसन्धान गराउने। तर, त्यो अधुरो धोको अब बहालवाला प्रतिष्ठानकर्मी (वा गैरप्रतिष्ठानकर्मी)बाट मात्रै पूरा हुनुपर्ने ठाउँतिर सरेको छ।
 
जतिबेला अम्बर गुरुङ पुरानो प्रज्ञा प्रतिष्ठानमा जागिरे जीवन बाँच्दै थिए, त्यतिबेलै लोकशैलीमा टेकेर समाज परिवर्तनको गीत गाउँदै हिँड्ने अभियानकर्मी संगीतिकर्मीहरू देशका कुनाकुना पुगेका थिए। लोकतन्त्र बहालीपछि जुन सरकारले राष्ट्रिय धुन बनाउने जिम्मा अम्बर गुरुङलाई नै दिँदै थियो, त्यतिबेला लोकतन्त्र बहालीका लागि लड्ने संस्कृतिकर्मीहरू पनि किनारातिर कतै धकेलिएका थिए। तैपनि गणतान्त्रिक एकेडेमीको प्रमुख भएपछि गुरुङ लोक संगीतको जमिनप्रति घोत्लिएका थिए। 
 
मैथिली र भोजपुरी लोकलयले समृद्ध मधेस होस् या पूर्वी पहाडको मुन्दुमी लय, उपत्यका छेउछाउको नेवारी लय र तामाङ सेलो होस् या पश्चिमका गुरुङ-मगरको सोरठी-मारुनी, चाहे पश्चिम तराईका थारू गीत होउन् या सुदूरपश्चिममा गाइने देउडा, अथवा मध्य पहाडका बाहुन-क्षेत्रीले गाउने रोइला नै किन नहोस्; 'नेपाली संगीत' भनिने सरकारी मूलधारमा यो कतै थिएन। त्यो अम्बरका संगीतमा पनि श्रोताहरूले कतै भेउ पाएनन्।
 
सायद आफ्नो जीवनको यही खड्को अम्बरलाई पनि बिझाइरहेको हुँदो हो। २०६८ मंसिर २३ गतेको धारापाटी बसाइमा उनी मलाई पनि कुनै लोक गीत गाएर सुनाउन भन्छन्। आफ्नो पुरानो हारमोनियम टेबलमा राखेर काँप्दो हातका औंला चलाउँदै उनी मलाई धुनमा साथ दिन्छन्, म आँखा चिम्लेर गाउन सुरु गर्छु:
 
मेरो माया काँ पुगे होला ?
दिनमा हिँड्ने सुर्जेलाई था होला !
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame