क्रियटिभ जिनियसको नाममा

कुमारी लामा | २०७३ जेष्ठ ३१ सोमबार 963 पटक पढिएको

श्रद्धाञ्जलि
काटिरह्यो समयको धारले समयलाई या हामीलाई। पत्तै भएन। आठवटा वर्षहरू बगिगएछन् हामीलाई छोएर। हो आठ वर्ष हुर्किसकेछ हाम्रो सामीप्य। २०६५ सालको एक गर्मिलो दिन सम्झन्छु। अनि सम्झन्छु त्यो शीतल भेट उहाँको शान्त निवास चण्डोलमा। उहाँ अर्थात् संगीतज्ञ अम्बर गुरुङ। 
 
जुराइदिनु भएको थियो अविस्मरणीय भेट आदरणीय साहित्यकार प्रकाश सायमीले। ठूलो मान्छेको अघिल्तिर म बिल्कुल नर्भस थिँए। मेरो बोली बिल्कुल जाममा परेँ। मात्र सुनिरहेँ उहाँ दुईका भलाकुसारी। गीत, संगीत, साहित्य, जीवन र अरू धेरै कुराहरू भइरहे। बनिरहे म केवल मौन श्रोता। पोटिलो गुरुङ्गे बनोट तर मधुरो मीठो बोली। केही घण्टाको बसाइपछि बल्ल खुकुलो भएकी थिएँ। भर्खरै बाबा गुमाएको समय थियो त्यो। बाबाकै झझल्को मेटिदिएथ्यो त्यो मंगोलियन अनुहारले। अनि बारम्बार पुग्थे ढक्ढकाउन उहाँको ढोका। बस् सानो वहाना काफी। कवि गीता त्रिपाठी र म पनि दगुरिजान्थ्यौ। चण्डोलबाट बाँसबारी सरेको थियो उहाँको बसाइ। 
 
हामीलाई कलेजबाट भाग्न पनि सजिलो (नजिक भएका कारण)। कहिले इन्टरभ्युको लागि कहिले यसै भलाकुसारी गर्न। उहाँका संस्मरणत्मक निबन्धसंग्रह कहाँ गए ती दिनहरू भर्खरै पढिभ्याएको रन्को थियो। प्रिय निबन्धकार शंकर लामिछानेसँगको उहाँको सम्बन्ध र उठबसका प्रसंगहरूले पनि उहाँसँग भेटिरहने लोभ बढेको हुँदोथ्यो। उहाँसँगका यी सारा सम्झनाका पत्रहरू उप्किँदै छन् एकाएक।
 
जीवन र मृत्यु दुवैलाई मनन् गर्दै हुनुहुन्थ्यो ती दिनहरूमा। मृत्यु चिन्तनका पुस्तकहरू पढ्दै गरेको सुनाउनुहुन्थ्यो। उहाँ संगीतकारमात्र नभई एक अध्यता पनि। गीत संगीतबाहेक अनेक विषयका पुस्तकहरूमा धोत्लनु उहाँको बानी। 
 
उहाँका कुरा सुन्दै गर्दा म एक संगतीकार हैन एक दार्शनिकलाई सुन्दै छु झैँ लाग्थ्यो। यो पनि समयकै खेल हो। उमेरमा त हामी जीवनकै कुरामा अल्झिन्छौ तर जब बिस्तारै समय उञ्रार्धतिर लम्किन्छ तब सायद जीवनभन्दा परको कुरा पनि खेल्न थाल्छ मनमा।
 
गायक शैलेश सिंहसँगै पुगेकी थिए त्यस दिन। कुराको सिलसिलामा अम्बर सर भन्दै हुनुहुन्थ्यो। जीवनमा पैसा कमाउन सकिनँ तर मलाई दुःख छैन। कमसेकम खुलेर हाँस्न र रुन सकेको छु।
 
हट्। म स्तब्ध रहेँ त्यस क्षण। उहाँको जीवनप्रतिको दार्शनिक चिन्तनले हायलकायल भए। आफैंसँग पनि लाज लाग्यो। खोइ र हामी खुलेर हाँस्न र रुन सकेको। हामी अर्थहीन दौडधुपमै अल्झिजान्छौं। महत्वाकांक्षाले यसरी बेरिएका छौं कि कहाँ आफ्नै जीवन समीप पुग्ने फुर्सद छ र। 
 
पुँजीवादी मानसिकताले थिचिएका अधिकांश उहाँ जस्तो सादा जीवन र सिर्जनाका पुजारीको मर्मको फेर पनि समाउन सक्दैनन्। पैसा नै सबैथोक हो भन्ने संकीर्ण विचार बोकी हिँड्नेप्रति दया जगाइदियो उहाँको कुराले। लाग्यो उहाँका कालजयी सिर्जना यही चेतना र तपस्याकै उपज हुन्। त्यसै पल उहाँप्रतिको श्रद्धाको बिरुवा हलक्कै बढेर फुली गए ढकमक्क मनभरि।
 
शालीन मुहार र मन्द मुस्कान कैद भएको फोटो सुरक्षित छ एल्बममा र छु म पनि उहाँकै छेउ। त्यो सुन्दर समय मनमा झन् बढी सुरक्षित र ताजा रहनेछ। समयसँगै धेरै कुराहरू, साथहरू छुट्दै छुटाउँदै अघि बढ्ने रहेछौं हामी। तर जति नै अघि बढे पनि हामीलाई बारम्बार पछाडि तानिरहने रहेछ उही सम्झनाले।
 
सम्झिरहेछु हाम्रो पहिलो भेटमा देखेको उहाँको झर्झराउँदो मुहार त्यसपछि समयसँगै बिस्तारै बढ्दै गएको अस्वस्थता र गत वर्ष संगीतकार पारस मुकारुङको एकल सांगीतिक साँझमा धेरै नै छाटिएको शरीर अनि धर्मराएको बोली र हिँडाइ। आखिर समय न हरेछ। उहाँकै गीतजस्तै
 
यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा...
हार्दिक श्रद्धाञ्जलि उहाँ क्रियटिभ जिनियसलाई।
 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame