लिभिङ लेजेन्ट: धर्तीकै अम्बर

रोशन शेरचन | २०७३ जेष्ठ ३१ सोमबार 1128 पटक पढिएको

म्झना
वरिष्ठ संगीतकार अम्बर गुरुङ भौतिक रूपमा हामीबीच रहेनन्। नेपालको सांगीतिक आकाशमा ठूलो रिक्तता छाडी अम्बरतिर महाप्रस्थान गरे। मृत्युको सन्दर्भमा ९५ प्रतिशतको धारणा छ, मर्दा केही लगेर जाने त होइन। तर विशिष्ट पाँच प्रतिशतविपरीत सोच्छन्।
 
लगेर जाने उनीहरूको कल्पनामा पनि आउँदैन। बरु उनीहरू सोच्छन्, मर्दा के छाडेर जाने ? अम्बरले हाम्रामाझ एकसे एक सांगीतिक सिर्जनाहरू छाडेर गए। 'म अम्बर, तिमी धरती', 'नौ लाख तारा उदाए'जस्ता अमर गीतहरू। सुन्दै शरीरमा राष्ट्रभावले काँडा उमार्ने राष्ट्रिय गीतमा बेजोड संगीत। मुस्ताङको हावा चल्ने गल्छी होस् वा दार्चुलाको बन्जर खोच। सर्लाहीको आमगाछी होस् वा झापाको सुपारीको वन, त्यसैछेउ हरेक दिन लाखौं विद्यार्थी अम्बरबाट संगीतबद्ध राष्ट्रिय गीत गाउँदै स्कुले दिनको सुरुवात गर्छन्। गायकीमात्र होइन, कालजयी संगीतको सूची पनि लामै छ। मालती मंगले, मुनामदन गीति नाटकका गीत होस् वा ज्वजल्ल्यमान गीत 'रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो।'
 
धेरै महान् प्रतिभा मृत्युपर्यन्त लेजेन्ड बन्छन्। अम्बर गुरुङ जीवित छँदै लेजेन्ड भए। लिभिङ लेजेन्ड। बाचुन्जेल कैयन् प्रतिभालाई समाजले चिन्न नसकेका धेरै उदाहरणहरू हामी भेट्छौं। यस अर्थमा उनी भाग्यमानी हुन्। श्रोताले उनलाई धेरै माया गरे। उनले पनि देश र सीमापारका लाखौं श्रोताको माया र सम्मानलाई सधै जतन गरेर राखे।
 
अम्बर गुरुङलाई संगीतकारभन्दा संगीतविज्ञभन्दा उपयुक्त हुन्छ कि ? म्युजिक मइस्ट्रो। केही अप्रत्यक्ष सन्दर्भहरू मेरा पनि छन्, उनको संगीतसँग झ्याम्मिदाँका। यहाँ लेख्दा सान्दर्भिक नै होला। करिब २० वर्ष अगाडिको सन्दर्भ। २०५४, कात्र्तिक ३ गते शनिबार। 
 
त्यो दिन रंगकर्मी अनुप बराल, कवि पुष्प आचार्य र म फेवाताल घुम्न निस्केका थियौं। मैले गुरुङको भर्खर बजारमा आएको एल्बम 'कहिले लहर कहिले तरंग' बोकेको थिए। फेवातालमा उठ्ने शान्त लहरमा त्यही संगीत सबैभन्दा मेल खान्छ, मनले त्यस्तो सोचेछु। फेवाताल पुगेपछि, डुंगा नचढ्ने प्रश्नै भएन। 
 
तालवाराही मन्दिरसम्म पुग्यौं। अचानक कवि श्रवण मुकारुङ टुप्लुक्क देखा परे। मेरो प्रिय कवि। अचम्मकै आनन्द। त्यसपछि डुंगा रिजर्भ गरी अलि लामो फन्को मार्यौं, परसम्म। बजारको कोलाहल किनारमै छुटेको थियो। बीचतिर पुगेपछि वकमेन अन गरे। वातावरणमा गीत गुञ्जन थाल्यो।
 
म उदास भएर के भो,
म खुसी भएर के भो
यति बिरान जिन्दगी छ,
कि बिरानी आएर के भो
 
संगीतको गुरुत्वतिर तानिँदै गयौं। सायद सबैको मनमा अनौठो तरंग बन्दै गइरहेको थियो। आवाजको नाउमा डुंगा खियाउँदा उत्पन्न हुने एक तमासको आवाज र त्यसको पृष्ठभूमिमा खुलेको अम्बरको गम्भीर आवाजमात्र सुनिन्थ्यो। रानी वनको वृक्षहरू क्रमशः विपरीत दिशामा सर्दै गएको थियो। 
 
लामो मौनता भंग गर्दै श्रवणले भनेको सम्झन्छु, 'अम्बर गुरुङ संगीतकारभन्दा पनि म्युजिक एन्थ्रोपोलोजिस्टजस्तो लाग्छ। संगीतिक विश्वविद्यालयजस्तो।' कविले त्यस्तै आसयको बात गरेको थियो। झन्डै दुई दशकअघिको कुरा।
 
मैले कुरोको चुरो त्यति बुझिनँ। धेरै कुराले म काँचै थिए। त्यतिबेला बरु कवि ईश्वरवल्लभ सम्झे। थाहा पाउँदैछु, धेरै अर्थहरू समयक्रममा खुल्दा रहेछन्। कविको मूल्यांकन सही रहेछ।
 
म एकताका अम्बर गुरुङको छोरा किशोर गुरुङकहाँ गिटार सिक्न पुतलीसडक धाएँ। रीत नपुगको सपनाहरू लिएर। ठेट्ना उमेर। क्लासिकल म्युजिकका धुरन्धर किशोरसँग मैले खासै सिक्न सकिनँ। 
 
उनी हामीलाई माया गर्थे र हौस्याउँथे। तर मेरो कदम लहडभन्दा बेसी थिएन। तर, फाइदा भने भयो। अम्बर गुरुङको संगीततर्फ चियाउने सानो आँखीझ्याल पाए। त्यसपश्चात रुचि दिएर गुरुङलाई सुन्न थाले।
 
समयक्रममा निबन्धकार शंकर लामिछाने र कवि भूपि शेरचनका संस्मरणहरू पढेँ। कवि प्रकाश सायमीका आलेखहरू पनि। भूपिले अम्बरको सन्दर्भमा भनेका रहेछन् 'ऊ मान्छे सायद होइन, ऊ मित्र हो र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो र जसका लागि कलाकार होइन, उसका लागि गायक हो।
 
 र, जसका लागि गायक होइन, उसका लागि ऊ जन्मेको पनि छैन।' यी स्रष्टाहरूको संस्मरण पढ्दा उनीहरू एकअर्काबाट प्रभावित थिए र उनीहरूको वैचारिक निर्मितिमा पनि सबैको प्रेरणा रहेको थाहा लाग्छ। 
 
सँगसँगै बनेका स्रष्टाहरू रहेछन्। 'कहाँ गए ती दिनहरू' पढेपछि बूढाको गद्यभाषाको लालित्यबाट मुग्ध बनेँ। बाङ्देलको निबन्धमा जसरी रङहरू देख्न सकिन्छ, त्यसरी नै गुरुङका निबन्धहरूमा संगीत सुन्न सकिन्छ।
प्रचलित अर्थमा अम्बरको प्रकृतिप्रदत्त स्वर सुरिलो पनि होइन। अलिक रुवाँसे। आँसुले भिजेको स्वरजस्तो। सुन्दा यथेष्ट पीडा छाडेर जान सक्ने स्वर। मनले गाउने। जिन्दगीभर उदास साथीसँगीहरूसँग मात्र संगत गरेर भएको स्वरजस्तो। शायद त्यसैले त्यो स्वरले लाखौँ नेपालीलाई भित्रैसम्म स्पर्श गरेका हुन्।
पछिल्लो समय भने कवि दुतेन्द्र चामलिङबाट धेर थाहा पाउँथे। अम्बर सरले मेरो केही रचनालाई संगीतबद्ध गर्छु भन्नुभएको छ, यौटा भेटमा दुतेन्द्रले उत्साहित हँदै सुनाएको थियो। गीत यस्तो रहेछ।
 
आकाशलाई सोधे
त्यो नीलो के हो ?
बतासलाई सोधे
त्यो चिसो के हो ?
दुवै भन्छन्, भन्नु हँदैन, भन्नु हँदैन
 
अम्बरको दृष्टिमा पर्नु भनेको सानो ल्याकत हँदै होइन। ग्रेट....कवि दुतेन्द्रलाई बधाईदिएको थिए। झुमा लिम्बूको कार्यक्रममा त तिम्रो गीत कम्पोज नगरी मर्दिन पनि भन्नुभएको रहेछ। दुतेन्द्र सुस्केरा हाल्दै सुनाउँछ।
 
अम्बरका संगीतप्रति मेरो आफ्नै खाले धारणा छ। एकांगी पनि होला। धेरैसँग संवाद नगरी बनेकाले मनोगत पनि होला। यी धारणा उनका संगीतहरू अनेकौं पटक सुन्दा बनेका हुन्। प्रथम, अम्बरलाई मन पराउन अलिक कठिन छ। 
 
उनको दार्जिलिङको जीवनको पाटोबारे धेरथोर ज्ञान नराखी उनको संगीतको अर्थ अलि खुल्दैन। प्रवासी नेपालीको परिचयविहीनता र पीडाको कन्टेक्समा मात्र उनका सांगीतिक टेक्स्टको अर्थ खुल्छ। 
 
नारायणगोपाललाई पहिलोपटकमै मन पराउन सकिन्छ। प्रेमध्वज प्रधानलाई पनि। तर अम्बर आफ्नै खाले छ। अलि घुमाउरो। बढी गम्भीर। त्यो गम्भीरता लेखक समालोचक इन्द्रबहादुर राईले हुलेका हुन्। कलालाई गम्भीरतापूर्वक लिन सिकाउने राईलाई उनले त्यसै सम्झेका छैनन्।
 
अम्बरका सिर्जना साहित्यझैं सरलतामै अडिबस्दैन। त्यसले कहिलेकाहीँ अबोधगम्यता पनि ताक्छ। त्यसैले सुरुमै मन पराउन गाह्रो। मन परेपछि मन छुटाउन झनै् गाह्रो। 'कहिले लहर कहिले तरंग'भन्दा अघिको रचनाको हकमा त्यसो भन्नु बढी सत्य होला। केही अपवाद त हुने नै भयो। जीवन आफैं अपवादरहित कहाँ छ र ? यदाकदा प्रकट हुने अपवादप्रति जीवन कृतज्ञ नै छ। अपवादकै उपस्थितिले जीवन कौतुकमय बनेको छ। अर्गानिक पनि।
 
प्रचलित अर्थमा अम्बरको प्रकृतिप्रदत्त स्वर सुरिलो पनि होइन। अलिक रुवाँसे। आँसुले भिजेको स्वरजस्तो। सुन्दा यथेष्ट पीडा छाडेर जान सक्ने स्वर। मनले गाउने। जिन्दगीभर उदास साथीसंगीहरूसँग मात्र संगत गरेर भएको स्वरजस्तो। सायद त्यसैले त्यो स्वरले लाखौं नेपालीलाई भित्रैसम्म स्पर्श गरेका हुन्।
 
डुंगाबाट ओर्लेर नजिकैको होटेलमा छिर्छौं। पिउछौं र साहित्य, संगीत र रंगमञ्चका विषयमा कुराकानी गर्छौं। अनुप रंगमंचका कुरा सुनाउँछन्। श्रवण साना नानीहरूका कविता सुनाउँछन्। 
 
म तेस्रो आयामका कुरा झिक्छु। एल्बमको कभर सम्झन्छु। अम्बर गुरुङ पियानोसामु बसेको छ। अनुहारमा गम्भीरता झल्किएको छ। एउटा गीत भने मलाई असाध्य मन पर्छ। दर्जनौं पटक सुनेँ हुँला।
 
तिमी भूलमा पर्यौ, म पनि झुक्किए
यो भेटघाटलाई, एक संगम भनी
नलागी कतै चोट, अब छुटौ हामी
मिल्दैन यहाँ, दस्तुर भनी
 
गज्जबको यथार्थबोध छ, गीतमा। जीवनको कटु यथार्थमाझ कतै चोट नलगाई छुट्टिने आग्रह छ। प्रेममा पनि यथार्थले जित्ने अर्थ छ। त्यो गुरुङकै अनुभव पो थियो कि ? 
 
सुरुको जलतरंगजस्तोको मुग्धकारी संगीत, कर्णप्रिय कोरस, शब्दलाई दिइने अम्बरियन स्ट्रेस र शब्दलाई तन्काउँदै गरिने उच्चारण (उदाहरण मात्रलाई मातर, दस्तुरलाई दस्तुर) मा उनको हल्का नोजल स्वर (? ) विशिष्ट बनेको छ। त्यस्तो अर्को स्वरै छैन।
 
'उकाली चढ्दा पसिना पुछ्ने
तिमी नभए अरू को होला'
 
माथिको संगीतले ताजगी दिन्छ। समपर्णको भाव छ। यो जीवन्त प्रेमगीत हो जसमा श्रोताले अन्तरनिहित ऊर्जाको अनुभव गर्छ।आज २५ जेठ, २०७३। महान् सर्जकको महाप्रस्थानको भारले दिन थकित देखिन्छ। टेलिभिजन, एफएम र अनलाइन गुरुङको निधनको खबरले भरिएका छन्। 
 
देश शोकाकुल छ। खाना खाई हात के चुट्न थालेको हुन्छु, निबन्धकार दीपक सापकोटाको फोन आउँछ। अम्बर गुरुङ उपर केही लेख्न आग्रह गर्छ। विगतमा दुई लेख अम्बर गुरुङ माथि लेखेको थिएँ। दीपकले आग्रह गरिरहँदा मनमा विचार आउँछ, योभन्दा उपयुक्त समय कहिले हुन्न।
 
शब्दाञ्जलि नै त सबैभन्दा उपयुक्तशद्धाञ्जलि हो। धन्यवाद दीपक, अम्बर गुरुङजस्ता मूर्धन्य संगीतकारको बारेमा शब्दसुमन चढाउन पाउनु कम्ता अहोभाग्य होइन। यी हरफहरू लेखिरहँदा त्यो सौभाग्य अनुभव गरिरहेको छु।
 
म अम्बर हुँ, तिमी धरती भनी गाउने अम्बर गुरुङ धर्तीकै अम्बर हुन्। अल बिदा अम्बर दाइ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame