उही जजीको नाममा !

अम्बर गुरुङ | २०७३ जेष्ठ ३१ सोमबार 4542 पटक पढिएको

निबन्ध
जन्मेपछि मर्नुपर्छ भन्ने कुरा हो रहेछ र होइन पनि रहेछ। वास्तवमा जन्म र मृत्युको अन्तरालमा हामी आफू जे भएका र बनाइएका हुन्छौं, त्यो ज्ञानको अनुभव र अनुभवको ज्ञानले हामीलाई बोध गराउँदो रहेछ। त्यसपछाडि मात्र हामीले जन्म र मृत्युको वास्तविकता थाहा पाएर ढुक्क भएर भन्न सक्दा रहेछौं-जन्मेपछि मर्नु अथवा मर्नैपर्छ...। नत्र आशय नै नबुझेर ताली बजाएजस्तो हुँदो रहेछ। शब्दमा तालमदले भनेको कुरा सम्झन्छु, 'हामी कुनै वस्तुलाई ती जे छन् त्यसरी हेर्दैनौं, बरु हामी जे छौं त्यसरी हेर्छौं।'
 
यतिबेला मलाई जजी सम्झना हुन्छ। ऊ एउटा अत्यन्त राम्रो नृत्यकार थियो। त्यसबेलाको दार्जिलिङमा 'नौलाख तारा उदाए' गीतले मलाई दिन थालेको लोकप्रियता भर्खरै दुईतीन वर्षमात्र पुगेको थियो। त्यही बेला जजीसँग मेरो परिचय साटासाट भएको थियो- मैले उसको नृत्य हेरेर र उसले मेरो गीत सुनेर। जजीका बाबु बंगाली र आमा तिब्बती भएको दुर्लभ संगमको परिणामले होला, उसले आफ्नो रूपमा अखण्ड सौन्दर्य पाएको थियो। मलाई व्याकरणले क्षमा दिन्छ भने केटाको हैसियतले म उसलाई राम्रो र केटीको हैसियतमा राम्री नभनेर 'राम्रिनी' भन्न चाहन्छु। 
 
उसमा भएको त्यो अनुपम सौन्दर्य प्रकृतिले अथवा सृष्टि संरचनाले दिएको वरदान अथवा अभिषापले भए पनि हाम्रो सामाजिक दृष्टिले ऊ न केटा न केटी भएर 'हिजडा' ठहरिएको थियो।
 
सबै प्रकारको नृत्यमा ऊ प्रवीण भए पनि उसको विसंगत रुचि कत्थक नृत्यमा थियो। दार्जिलिङ छँदा धेरैचोटि उसको पर्फमेन्स हेर्ने सुयोग मलाई जुरेको थियो। म उसको ताल, ज्ञान, लयकारी, भावभंगी, बोलचाल आदिको अखण्डित प्रस्तुतिले चकित हुन्थेँ। 
 
उसको पहिलो प्रदर्शनीबाटै प्रभावित भएर म उसलाई बधाई दिन स्टेजमा पुगेको थिएँ। रंगमञ्चदेखि सुरु भएको हाम्रो संसर्ग विस्तारित हुँदै आवतजावत र भेटघाटमा पुग्न थालेको थियो। कहिलेकाहीँ हामी लामो कुराकानी पनि गर्थ्यो। 
जजी भन्थ्यो, 'म तपाईंलाई प्रेम गर्छु। अर्को जुनी हुन्छ भने म तपार्इंकी प्रेयसी भएर जन्मन पाऊँ। अब म यस्तो फोहोर र गलिच ठाउँमा बस्दै बस्दिनँ। तर, तपार्इंलाई भने विशेष केही फरक पर्दैन। किनभने हामीजस्तालाई घोप्टो पर भन्ने र घोप्टो पार्न खोज्नेहरूभन्दा तपार्इं धेरै माथि र चोखो हुनुहुन्छ।'
 
एक साँझ हामी मालरोड घुम्दै गर्दा उसले भनेको एउटा कुराको सम्झना र त्यसमा एकैसाथ आज पनि मलाई पछुतोबोध भइरहेको छ। उसले भनेको थियो, अथवा उसले भनेकी थिई (कत्रो फसाद !), 'तपार्इं एउटा ब्याले संगीत बनाउनुहोस् !' यति भनेर जजीले एउटा लामो फन्को मारेको मलाई अझै सम्झना छ भने पछुतो यसकारण छ कि मैले क्यानटेटा र क्याबरहरू रचेको छु, तर आजपर्यन्त मैले ब्याले संगीतको रचना गरेको छैन।
 
एकपटक जिमखाना क्लबमा आयोजित फूल प्रदर्शनीमा म पनि सरिक भएको थिएँ र साँझमा एउटा पार्टी पनि आयोजना भएको रहेछ। जलपान वितरण कार्यक्रममा म देख्छु— जजी साडीमा सजिएकी छन् ! वास्तवमा भन्ने नै हो भने नारी पहिरनमा ऊ अत्यन्तै मोहक र प्रखर सुन्दरी प्रतीत हुन्थ्यो। 
 
त्यो उसको सुन्दर अनुहारको कोमलतामात्र नभएर उसको अंगप्रत्यंगमा भएको नारीजनित सौन्दर्यले हिन्दीमा भनेझैं अर्को चाँदनी थपिदिएको थियो। तर, मलाई यो सबै सह्य हुँदैन थियो। मानौं, म कुनै त्यस्ती सुन्दरी पत्नीको यस्तो पति हुँ जसको पत्नी वा प्रेमिकालाई अरूहरूले हेरेको मात्रै पनि असह्य हुन्छ।
 
वास्तवमा मैले जजीलाई प्रेमिका त के त्यसको एक कुनाले पनि हेरेको थिइनँ। मेरो त्यस बेलाको अबोधता भन्दा पनि ठूलो गल्ती के हो भने उसमा जनित द्वैध व्यक्ति वा चरित्रलाई म 'न्युट्रल' गराउन चाहन्थेँ। आज सम्झन्छु— कत्रो र कति ठूलो दुस्साहस गरेछु मैले। र, त्यति बेलाको रन्कोले कसैलाई केही नभनी म क्लबदेखि बाहिरिएर घर पुगेछु।
 
त्यसपछाडिका दिनहरूमा जजीले जसरी मेरो कन्सर्टहरू बिराउँदैनथ्यो, त्यसरी नै म पनि उसको नृत्य हेर्न चुक्दिनथेँ। यतिसम्म कि ऊ स्वयं टिकट लिएर मलाई भन्थ्यो, 'दाजु, तपाईं त आउनैपर्छ। तपाईं आउनुभएन भने सत्य म नाच्दै नाच्दिनँ।'
 
धेरै दिनसम्म जजी र मेरो भेट भएन। सुन्थेँ, जजीले रक्सी खान थालेको छ रे। कुन ठूलो कुरा हो र ? म पनि पिउँछु, नभए पनि बेलाबखत रक्सी खान थालिसकेको थिएँ। एक रात साँझ ढलेर ८ बजेतिर होला, जजी हाम्रो त्यस बेलाको आर्ट अकाडेमीको कक्षामा आएपुग्छ। आफ्नो ब्याग र एउटा सानो पोको एउटा मेचमा राखेर म उठ्दानउठ्दै उसले मलाई ढोगिसकेको हुन्छ।
 
म भन्छु, 'जजी, मलाई तिमी नढोग।'
'किन ? तपाईंलाई ढोग्नु नराम्रो हो र ? '
 
'मैले नराम्रो भनेको होइन तर कसैको चरण छुनु भनेको चानचुने कुरा नभएर एकदमै ठूलो कुरा हो। देवतापछाडि मातापिता र गुरुलाई मात्र ढोग्नुपर्छ। म तिम्रो न मातापिता, न गुरु नै हुँ।'
 
'तर मैले तपाईंलाई मातापिता र गुरु नै मानेको छु। मलाई तपाईंमा बास दिनुहुन्न ? 'उसको यो भनाइले म यत्ति विर्दिण हुन्छु कि मेरो कण्ठ अवरुद्ध हुन्छ। केही छिनपछि म बल गरेरै भन्छु, 'आज तिमी रक्सी खाएर आएजस्तो छौ।'
 
अनि हाँसोको ठूलो फोहोरा छुट्छ भनेर होला, उसले दुवै हत्केलाले मुख थुनेर हाँसोलाई कम पार्छ र भन्छ, 'त्यो दिन तपाईं जिमखानाबाट गएपछि मेरो संसारै अँध्यारो भयो। जलपानपछाडि नृत्यको कार्यक्रम भएकाले उनीहरूले मलाई जबर्जस्ती सारी पहिर्याइदिएका थिए। 
 
म यत्ति रोएँ, यत्ति रोएँ र नाच्न पनि सकिनँ। त्यसपछि तपाईंलाई भेट्न मलाई आँटै आएन। र, आज रक्सीको भरमा आँट गरेर तपाईंलाई भेट्न आएँ। तपाईं महान् हुनुहुन्छ, अम्बर दाज्यू। तपाईं साँच्चै महान् हुनुहुन्छ।'
जजीका बाबु बंगाली र आमा तिब्बती भएको दुर्लभ संगमको परिणामले होला, उसले आफ्नो रूपमा अखण्ड सौन्दर्य पाएको थियो। केटाको हैसियतले म उसलाई राम्रो र केटीको हैसियतमा राम्री नभनेर 'राम्रिनी' भन्न चाहन्छु। सामाजिक दृष्टिले ऊ न केटा न केटी भएर 'हिजडा' ठहरिएको थियो। 
म उसलाई आश्वासनको खोक्रो शब्दमा भन्छु, 'जजी, म महान् होइन, तिमी महान् छौ।'गर्जेको स्वरमा ऊ भन्छ, 'म कसरी महान् ? तपाईंजस्तो मान्छेलाई यस्तो झूठो कुरा भन्न सुहाउँदैन, पटक्कै सुहाउँदैन। मलाई महान् नभनेर, तुच्छ भन्नुहोस्।' यति भनेर यहाँनेर ऊ केही बेर रुन्छ।
 
म पनि उसलाई चुप नगराएर रुन दिन्छु र केही बेरपछि ऊ भन्छ, 'म समाजबाट, परिवार र रिस्तेदारदेखि अपमानित र तिरस्कृत ! न पुरुष, न नारी नै हुन सकेको विडम्बनाको रचनामा परेको एउटा पशुमात्रै हुँ। एउटा कुरा तपाईंलाई नै भन्छु भनेर पनि म आज रक्सी खाएर आएको हुँ।
 
तपाईंलाई थाहा छ, म तपाईंलाई ठूलो श्रद्धा, इज्जत र आदर गर्छु। तर तपार्इंलाई थाहा नहोला, सबैभन्दा अघि बढेर म तपाईंलाई प्रेम गर्छु र, अर्को जुनी हुन्छ भने म तपार्इंलाई अझ झन् बढी माया, प्रेम गर्ने तपाईंकी प्रेयसी भएर जन्मन पाऊँ। 
 
अब म यस्तो फोहोर र गलिच ठाउँमा बस्दै बस्दिनँ। तर, तपार्इंलाई भने विशेष केही फरक पर्दैन। किनभने हामीजस्तालाई घोप्टो पर भन्ने र घोप्टो पार्न खोज्नेहरूभन्दा तपाईं धेरै माथि र चोखो हुनुहुन्छ।'
 
त्यसपछाडि जजी साँच्चै नै हरायो। कहाँ गयो, के भयो केही वास्ता भएन। हुँदैन पनि रहेछ। त्यसपछाडिको कथा कुनै दिन भनौंला।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame