यार्सा नभेटिएपछि रित्तै फर्किए युवा

दीपक अधिकारी | २०७३ असार १ बुधवार 14813 पटक पढिएको

फोटो : यार्सागुम्बा खोज्न मनाङका लेक चहारेर फर्किएका युवा। तस्बिर: दीपक अधिकारी
भ्राका (मनाङ): धादिङ गैरीगाउँका कैबहादुर तामाङ यार्सागुम्बा खोज्न पत्नीलाई लिएर मनाङ आए। यार्सा खोज्न भन्दै गत वैशाख २६ गतेदेखि मनाङको भ्राका लेक चहारेका तामाङदम्पती जेठ अन्तिम साता खाली हात घर फर्कंदै थिए। 
 
'यस वर्ष आम्दानी लिन सकिएन', कैबहादुरले भने, 'पुर्जी रकम तिर्न पनि धौधौ पर्यो। पानी नपर्दा कीरा नभेटिएकाले सोचेजति आम्दानी लिन सकिएन।'उनीहरूसँगै आएकी उर्मिला तामाङले एक महिना बिताउँदा पनि भनेजति यार्सा संकलन गर्न सकिनन्।
 
'यो वर्ष त यार्सा पनि भेटिएन', उनले भनिन्, 'हिउँ नपरेर नभेटिएको होला।' यार्सा खोज्न २५ जनाको समूहमा आएको धादिङको यो टोली मनाङको भ्राका लेक पुगेको थियो। तर समूहका कसैले पनि राम्ररी यार्सा संकलन गर्न सकेनन्। केहीलाई पुर्जी रकम तिर्न पनि धौधौ पर्यो, केहीले पुर्जी रकम तिर्ने पैसासम्म जोड्न भ्याए।
 
जनही १६ हजार रुपैयाँको पुर्जी काटेर गएको यो समूहले ठूलो यार्सालाई सात सय ५० र सानोलाई दुई सय रुपैयाँसम्ममा बेचेको थियो। बेसीसहर-चामे सडकखण्ड मर्मतका कारण सडक अवरुद्ध बनेपछि पैदलयात्रा गरेर शनिबार घर फर्केका उनीहरू निराश देखिन्थे।
 
भ्राका लेकमात्र होइन, मनाङको खांसार लेकमा पुगेका अधिकांशले राम्ररी यार्सा संकलन गर्न सकेनन्। यार्सा खोज्न खांसार पुगेका गोरखाका सोनाम गुरुङले मुस्किलले पुर्जी रकम तिर्न र खर्च धान्न मात्रै ठिक्क भएको बताए। 
 
झन्डै एक महिना बिताएका उनीसँगै आएको सातजनाको टोली शनिबार खाली हात घर फर्कंदै थियो। अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय मनाङले वैशाख १५ देखि यार्सा संकलनका लागि खुला गरेको थियो।
 
उच्च लेकमा पाइने यार्सागुम्बा जलवायु परिवर्तनका कारण हिउँदमा हिमपात नहुँदा जमिनको तापक्रम बढेर अचेल पाइन छाडेको स्थानीय बासिन्दाले बताएका छन्। हिउँ पर्न छाडेपछि यार्सा पनि घट्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए।
 
'एकातिर हिउँ परेको छैन, अर्कातिर यार्सा सखापै बनाएर खोज्ने प्रवृत्ति बढ्दै गएकाले पनि घट्दै गएको हुनसक्छ', उनले भने। केही समूहले भने यार्साबाट राम्रै आम्दानी गरेको भेटिएको उनले बताए।
 
यार्सा पाइने भ्राका, खांसार, ङ्वाल, पिसाङलगायत स्थानमा यार्सा खोज्न आउनेको भीड छ। विकट क्षेत्र मानिने नार र फुमा भने असार १ गतेबाट संकलन खुला गरिने भएको छ। मनाङमा यार्सा खोज्न स्थानीय बासिन्दासँगै गोरखा, धादिङ, लमजुङ र नुवाकोटबाट मान्छे आउने गर्छन्। यार्सा खोज्न आउनेलाई एक्यापद्वारा गठित गाउँस्तरको समितिले पुर्जी दिन्छ।
 
२०६६ सालमा नारस्थित नम्गेखर्कमा गोरखाका सातजनाको स्थानीय बासिन्दाले हत्या गरिदिएपछि मनाङको नार र फु गाविसमा यार्सा संकलन रोकिएको थियो। त्यहाँ अहिले पनि स्थानीयबाहेक अन्यलाई प्रतिबन्ध छ। उक्त घटनापछि एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको छ।
 
'यस वर्षदेखि कडाइका साथै व्यवस्थित बनाएका छौं', एक्याप मनाङका प्रमुख तिरुवाले भने, 'यार्सा खोज्न आउनेसँग नागरिकताको फोटोकपी र तस्बिर मागेका छौं। यसले उनीहरूको सहज पहिचान हुनेछ।' १३ गाविस रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै गाविसमा यार्सा पाइन्छ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame