चीनले खोल्यो कोरला नाका (फोटोसहित)

केशवशरण लामिछाने | २०७३ असार १ बुधवार 14581 पटक पढिएको

फोटो :चीनले २५ दिनका लागि खोलेको मुस्ताङस्थित कोरला नाका। तस्बिर: केशवशरण लामिछाने
पोखराः चीनले मुस्ताङ सीमाक्षेत्रको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलाएको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताका क्रममा नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले अन्नपूर्णलाई दिए । 
 
‘भोलि (बिहीबार) बाट व्यापारिक कारोबार सुरु हुन्छ’, सीडीओ अधिकारीले भने । एक दशकभन्दा अघिदेखि सीमामा तारबार लगाएर चीनले कोरालामा गेट बन्द गरेको छ । त्यसअघि उत्तरी मुस्ताङका बासिन्दा चीनको तिब्बती पठारमा सजिलै आउजाउ गर्थे । 

तर बजारसम्म भने उनीहरुको पहुँच हुँदैनथ्यो । चीनले कोरलाको गेटमा ताला लगाउनु अघिदेखि नै यसरी मेला लाग्दै आएको हो । त्यही परम्परा अनुरुपको मेलाका लागि यो असार १ बाट कोरला नाकाको गेट खुलेको लोमन्थाङका स्थानीय अगुवा इन्द्रधारा विष्टले बताए । 

कोरला नाकाभन्दा ३ किलोमिटर पल्तिर चीनको तिब्बती भागमा मेला हुन लागेको जानकारी सीडीओ अधिकारीले दिए । बुधबारबाटै गेट खुला भए पनि स्टलहरु सबै तयार नभइसकेकाले बिहीबारबाट मात्रै व्यापारिक कारोबार हुने उनले बताए । मेला लाग्ने भएपछि नेपालले पनि सीमा क्षेत्रको भन्सारलाई सक्रिय पार्ने जानकारी उनले दिए । ‘भन्सार र क्वारेन्टाइन पनि चालु हुन्छ’, उनले भने । 
 
तिब्बतको ढोङ्बासेन जिल्लाका र उपल्लो मुस्ताङका व्यापारीको सहकार्यमा मेला हुन लागेको लोमन्थाङका स्थानीय अगुवा इन्द्रधारा विष्टले जानकारी दिए । पारिका व्यापारीले ढोङ्बासेन जिल्लाका प्रशासनिक अधिकारीहरुसँग अनुमति लिएर मेला गर्ने सीडीओ अधिकारीले बताए । ‘त्यही जानकारी व्यापारीहरुबाट पाएको हुँदा म आफैं पनि कोरला पुग्दैछु’, उनले अन्नपूर्णसँग भने । 

हिउँदयाममा अत्यधिक चिसो हुने र हिउँसमेत पर्ने हुँदा असार र असोजमा मेला लाग्दै आएको छ । त्यस अनुरुप अनुकुल मौसम हेरेर असारमा मेला सुरु भएको हो । ‘मेलामा मुस्ताङसहित नेपालीहरुले थोक मूल्यमा सामानहरु किन्न पाउने छन्’, सीडीओ अधिकारीले भने । 
उनका अनुसार उपल्लो मुस्ताङका बासिन्दाले ६ महिनालाई पुग्ने गरी यिनै मेलाको अवसरमा सामान किन्छन् । जोमसोम हुँदै कोरलासम्मै मोटरबाटो पुगेको भए पनि सामान ओसार्ने ट्रकहरु गुड्न मिल्ने गरी सडक तयार भएको छैन । त्यसैले पनि उपल्लो मुस्ताङका बासिन्दा नेपालतिरभन्दा चीनको तिब्बती बजारमा निर्भर हुन बाध्य छन् । 
 
चिनियाँ सामान सस्तो हुने हुँदा पनि त्यता किनेर वारि व्यापार गर्ने गरी मेलाको फाइदा उठाइँदै आइएको छ । मेलामा नेपाली व्यापारीले पनि यताका सामानको स्टल राख्छन् । 

‘नेपाली मैदा, बासमति चामल र च्याङ्ग्राको पस्मिना नेपाली व्यापारीले बेच्छन्’, लोमन्थाङका अगुवा इन्द्रधारा विष्टले भने, ‘पहिला पहिला यार्सागुम्बा बिक्री गरिन्थ्यो, अचेल छैन ।’ 

उनका अनुसार नेपालीले चीनतिरबाट लत्ताकपडा, बियर, जुस, भोटेनुन र तिब्बती ऊन लगायत वस्तु किन्छन् । मेलामा जाने नेपालीलाई कडा जाँच गरेर फोटोसमेत खिचेपछि मात्रै चीनले प्रवेश दिने गरेको विष्टले सुनाए । 




अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame