स्थलमार्गको समस्याले हवाई यात्रु बढे

राजु बास्कोटा | २०७३ असार २ बिहीवार 3759 पटक पढिएको

फोटो :फाइल फोटो
काठमाडौं: सडक विस्तारका कारण ठाउँठाउँमा हुने सडक जामले हैरान भएपछि हवाई मार्ग प्रयोग गर्ने यात्रुको संख्या बढेको छ। 
 
मुग्लिन-नारायणगढ सडक खण्डको बाटो विस्तारका कारण दिनहुँ सवारीसाधनको जाम र गन्तव्यमा पुग्न हुने ढिलाइले काठमाडौंबाट चितवनको भरतपुर जाने हवाई यात्रु एक महिना यता दोब्बरभन्दा बढी बढेका छन्।
 
काठमाडौंबाट भरतपुर नियमित उडान गर्ने निजी क्षेत्रका दुई वायुसेवा कम्पनी बुद्ध एयर र यति एयलाइन्सको यात्रु चाप पछिल्लो एकढेड महिनादेखि ह्वात्तै बढेको छ।
 
 बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले काठमाडौंबाट भरतपुर जाने हवाई यात्रु बढेकै कारण दैनिक दुईवटाको उडानलाई पछिल्लो एक महिनादेखि चारवटा बनाइएको जानकारी दिए।
 
उनका अनुसार भरतपुरको उडान चाप बढ्नुको पछिल्लो कारण मुग्लिन-नारायणगढ सडक खण्डमा भएको अवरोध हो। यो गन्तव्यमा नियमित दुईवटासम्म उडान हुने गरेकोमा पछिल्लो समय यात्रुको माग बढ्दै गएका कारण उडान संख्या दोब्बर बनाइएको बुद्ध एयरले जानकारी दिएको छ।
 
भरतपुरमा नियमित उडान गर्ने अर्को निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्सले पनि दैनिक एउटा उडान गरिरहेको छ। यो वायुसेवाका जहाजको सीट क्षमता थोरै भए पनि यसले अन्य गन्तव्यमा पनि उडान गर्नुपर्ने भएकोले यात्रुको चाप भए पनि उडान थप गर्न नसकेको जानकारी यतिले दिएको छ।
 
कैलास मानसरोवरको सिजनले टिकट पाउनै कठिन
 
भारतीय पर्यटकका लागि चीनको कैलास मानसरोवर तिर्थ यात्राको सिजन सुरु भएकोले काठमाडौं-नेपालगन्ज र नेपालगन्ज-सिमिकोट हवाई टिकट पाउन कठिन भएको छ। हरेक वर्ष मे १७ तारेखबाट सुरु हुने यो धार्मिक तिर्थ यही जुन महिनाभर चल्छ।
 
भारतीय धार्मिक पर्यटकका लागि यो गन्तव्य अहिले मुख्य सिजन हो। यही सिजनका कारण काठमाडौंबाट नेपालगन्ज र नेपालगन्जबाट सिमिकोट जाने हवाई यात्रुको टिकट १५ दिन अगाडिदेखि नै पाउन मुस्किल हुने गरेको छ।
 
काठमाडौंबाट नेपालगन्ज जान नियमित उडानका वायुसेवा कम्पनी बुद्ध र यती एयरले दैनिक ३÷३ वटा उडान राखेका छन्। भारतीय यात्रुको चापका कारण चार्टर उडानसमेत गरेर कुनै दिन चारवटासम्म हुने भए पनि आन्तरिक हवाई यात्रुका लागि भने टिकट पाउनै मुस्किल छ।
 
टुर अपरेटर्स कम्पनीमार्फत आउने पर्यटकका लागि पहिले नै गु्रप होल्डिङ हुने गरेको छ। यात्रु चापका कारण कम्तीमा एक साता अगाडि काठमाडौंबाट नेपालगन्जसम्मको हवाई टिकट नै नपाइने सोसाइटी अफ टुर एन्ड ट्राभल एजेन्ट्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए। उनका अनुसार टुर अपरेटर्सले गु्रप होल्डिङ गर्ने गरेका कारण नेपालगन्जको टिकट पाउनै मुस्किल छ।
 
अहिले मानसरोवरको सिजन भएकोले काठमाडौंबाट नेपालगन्ज जाने यात्रुको चाप बढेको बुद्ध एयरका जोशीले बताए। मानसरोबार जाने चापकै कारण नियमति उडानका सबै आन्तरिक वायुसेवा नेपालगन्जलाई बेस बनाएर सिमिकोट उडान गर्न व्यस्त छन्। 
 
नियमित उडानका वायुसेवा ताराले चारवटा, गोमाले तीनवटा, सीताले दुईवटा, मकालुले दुईवटा र सिम्रिकले एउटा जहाजबाट नेपालगन्ज-सिमिकोट नियमति उडान गर्दै आएका छन्। यी वायुसेवाले दैनिक कम्तीमा ३२ वटा उडानमामार्फत करिब चार सय भारतीय पर्यटकलाई सेवा दिइरहेका छन्।
 
मानसरोवरको सिजन भएकैले काठमाडौं बेस भएका जहाज कम्पनीले पनि नेपालगन्ज पुगेर सेवा दिएका छन्। सिम्रिकले विगत तीन महिनादेखि नेपालगन्जलाई नै आधार बनाएर एउटा जहाज नियमति उडानका लागि राखेको छ। 
 
यो जहाजले नेपालगन्जबाट दैनिक तीनवटा उडान सिमिकोट गर्ने गरेको भए पनि बजुरा र जुम्लाका लागि पनि दैनिक एकएक उडान गर्ने गरेको छ। कैलास मानसरोवरको चापकै कारण सिमिकोटबाट हिल्ला जाने भारतीयको चाप बढेको छ। 
 
सिमिकोटबाट चार्टर गरेर जाने यात्रु चापकै कारण सिम्रिक, एयर डाइनेस्टि, फिस्टेल र माउन्टेनका हेलिकोप्टर विगत एक महिनादेखि हुम्लामै छन्। यी सबै हेलिकोप्टर जुन महिनाभर हुम्लामा व्यस्त हुने सम्बन्धित हेलिकोप्टर कम्पनीको भनाइ छ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame