युरोकपमा इङ्ल्यान्ड र जर्मनीलाई दबाब

एजेन्सी | २०७३ असार २ बिहीवार 6348 पटक पढिएको

फोटो :एजेन्सी
मर्सेली: युरोकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड र जर्मनीले कठिन प्रतिद्वन्द्वीको सामना गर्दैछन् । बिहीबार साँझ हुने खेलमा इङ्ल्यान्डले वेल्सको सामना गर्दैछ भने शुक्रबार बिहान हुने खेलमा जर्मनी पोल्यान्डविरुद्ध उत्रनेछ । 
 
आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २–० गोलले हराएको थियो भने इङ्ल्यान्ड रुससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । समूह 'बी' अन्तर्गत आफ्नो पहिलो खेलमा वेल्सले स्लोभाकियालाई २–१ गोलले पराजित गरेको थियो । 
 
पहिलो पटक युरोकपमा सहभागी भइरहेको वेल्सले उत्कृष्ट प्रदर्शन गरेको थियो । बेलायतका दुई राष्ट्र भएकाले पनि इङ्ल्यान्ड र वेल्सबीचको खेललाई चासोपूर्वक र प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ । 
 
विश्वकप तथा युरोकपमा इङ्ल्यान्डले बेलायतकै अर्को राष्ट्रसँग सामना गर्न लागेको यो केवल दोस्रोपटक हो । यसअघि सन् १९९६ को युरोकपमा स्कटल्यान्डसँग भिडन्त गरेकोमा इङ्ल्यान्ड २–० गोलले विजयी भएको थियो ।
 
इङ्ल्यान्डका वेन रोनी र वेल्सका गारेथ बेल चर्चाको केन्द्रमा छन् । स्ट्राइकर बेलले पहिलो खेलमा फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । रोनी इङ्ल्यान्डका कप्तान र सर्वाधिक गोलकर्ता हुन् । 
 
पुरानो र ठूलो टोली भएकाले इङ्ल्यान्ड बढी दबाबमा छ । अघिल्लो चरण प्रवेश गर्न इङ्ल्यान्डलाई सुखद नतिजाको विकल्प छैन । वेल्सले अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला आठ भिडन्तमा केवल एकपटक इङ्ल्यान्डलाई हराउन सकेको छ । ६ खेलमा इङ्ल्यान्ड विजयी भएको थियो ।
 
पछिल्लो पटक यी दुई टोलीबीच सन् २०११ मा प्रतिस्पर्धा भएकोमा त्यति बेला इङ्ल्यान्ड १–० गोलले विजयी भएको थियो । यो खेललाई लिएर दुवै टोलीले ‘माइन्ड गेम’ भने सुरु गरिसकेका छन् । इङ्ल्यान्डविरुद्ध जित हात पार्न सके वेल्स एक खेल खेल्न बाँकी रहँदै ऐतिहासिक सफलतासहित प्रिक्वार्टरफाइनल पुग्न सक्नेछ ।
 
समूह ‘सी’ अन्तर्गतको खेलमा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको पोल्यान्ड विश्व च्याम्पियन जर्मनीलाई निराश बनाउने प्रयासमा हुनेछ । पोल्यान्डले आफ्नो पहिलो खेलमा उत्तरी आयरल्यान्डलाई १–० गोलले हराएको थियो । 
 
सन् २००८ मा पहिलोपटक युरोकप खेलेको पोल्यान्डले पछिल्लो समय जर्मनीलाई कडा चुनौती दिइरहेको छ । पछिल्ला पाँच वर्षमा यी दुई टोलीबीच भएका चार भिडन्तमा दुई खेल बराबरी भएको थियो भने दुवै टोलीले एकएक खेल जितेका थिए ।
 
सन् २०१५ मा भएको भएको युरो छनोटमा जर्मनीले पोल्यान्डलाई ३–१ गोल र सोही प्रतियोगिताअन्तर्गत सन् २०१४ मा भएको खेलमा पोल्यान्डले जर्मनीलाई २–० गोलले हराएका थिए । 
 
जर्मनीलाई सबैभन्दा टाउको दुःखाइ पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की हुन् । जर्मन क्लब बायर्न म्युनिखबाट क्लब फुटबल खेलिरहेका लेवान्डोस्की यो सिजन घरेलु लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए ।
 
उनी जारी युरोकपका लागि भएको छनोटमा पनि १३ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । जर्मनीमा लेवान्डोस्कीले खेल्दै आएको क्लब बायर्नका खेलाडीको प्रभाव छ । 
 
जर्मनीका रक्षक जेरोमी बोआटेङले भने पोल्यान्ड टोलीमा लेवान्डोस्की मात्र चुनौती नभएको भन्दै प्रतिद्वन्द्वीलाई कठिन रूपमा उल्लेख गरेका छन् । जर्मनी र पोल्यान्ड दुवै टोलीका लागि ठूलो परीक्षा हुनेछ । 
 
सोही समूहको अर्को खेलमा बिहीबार राति युक्रेन र उत्तरी आयरल्यान्ड भिड्दैछन् । पहिलोपटक युरोकपमा सहभागी भएको उत्तरी आयरल्यान्ड पहिलो जितको खोजीमा छ । अगाडि बढ्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जितको विकल्प छैन ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame