नयाँ शक्तिको रुप

मनमोहन भट्टराई | २०७३ असार २ बिहीवार 1638 पटक पढिएको

देश बनाउने अभियानको उद्घोष स्वाभाविक मनस्थितिको उपज होइन
सुन्दर, शान्त र विशाल नेपाल कति शान्त छ भन्ने गाडीभित्रै ड्राइभर राखेर पेट्रोल छर्केर गाडी जलाइएको भर्खरको घटनाले पुष्टि गर्दछ। नेपालको सौन्दर्य न कसैले खल्बल्याएर खल्बलिन्छ न यसभित्र थपघट हुन्छ। गराउने घटना नभएको होइन, तैपनि यो रहिरहन्छ। 
 
विशालताको अर्थमा नेपाली नपुगेको अब विरलै देश बाँकी रहला। त्यसरी पनि आफ्नो मुलुकलाई विशाल भन्न सकिन्छ। अझ विशालताको अर्थ खोज्ने हो भने कुनै नेपालीलाई पनि नेपालमा कतिवटा दल छन् भन्ने कुरा ठ्याक्कै मिलाएर भन्न गाह्रै पर्छ।
 
दल त निर्वाचन आयोगमा दर्ता भएका या उसले खारेज गरेका दल पनि आफूलाई दलीय प्रतिनिधिको रूपमा सरकारमा बसिरहन कुनै हिच्किचाहट महसुस गर्दैनन्। त्यसमाथि अब एउटा नयाँ दल थपिएको छ, नयाँ शक्तिको नामबाट।
 
नयाँ शक्तिका नारा खड्ग ओलीका नाराभन्दा धेरै फरक पनि छैन। ओली सरकार र नयाँ शक्तिका पात्रहरू एकै प्रकृतिका देखिन्छन्। सबैलाई मुलुकको धेरै ठूलो चिन्ता भएजस्तो लाग्छ। उखानकै सहारा लिने हो भने 'सो चुहे खाके बिल्ली हजको चली' भनेजस्तै बाबुराम भट्टराई आजभोलि शान्ति र समृद्धिको कुरो गर्न थाल्नुभएको छ। 
 
समृद्धिको बाटोमा विस्तारै बामे सर्न खोजेको नेपाललाई ध्वस्त बनाउँदासम्म त्यो क्रान्ति थियो या भनौँ जनयुद्ध थियो। जनयुद्ध भनेको टेलिफोन टावर भत्काउने, स्कुलहरूमा आगजनी गर्ने कसैको व्यक्तिगत सम्पत्ति बलात् खोस्ने, खरिदबिक्री गर्ने त्यस्तो एउटा जनसत्ताका सुप्रिमो पनि उहाँ नै हुनुहुन्थ्यो अर्थात् बाबुराम।
 
अहिले के होस् पलायो कुन्नि खड्ग ओली, बाबुराम, प्रचण्ड सबै झन्डै-झन्डै एउटा भाषा बोल्न थाल्नुभएको छ। मुलुकको समृद्धि, सार्वभौमिकता, राष्ट्रियता आदिका प्रति उहाँहरूमाझ विशेष संवेदना भएजस्तो देखिन्छ। यो सिंगो संसारले बुझेको हो।
 
नेपालमा जनयुद्ध कसको स्वार्थमा के प्रयोजनका लागि के प्राप्ति गर्नको लागि र किन गरिएको थियो? जनयुद्धले २० हजार मान्छेको ज्यान खाइसकेपछि र मुलुकलाई ध्वस्त तुल्याइसकेपछि अब देश बनाउने अभियानमा हामी छौँ भन्ने उद्घोष यो स्वाभाविक मनस्थितिको उपज हुन सक्दैन। 
 
मालिकले जे-जे भन्छन्, त्यही-त्यही गर्नु केही राजनीतिकर्मीहरूको स्वभावै बनिसकेको छ। हिजो कसको बहकाउमा मुलुकलाई ध्वस्त तुल्याइएको हो। अब कसको निर्देशनमा नयाँ शक्ति नामको पार्टी खोलिँदैछ? 
 
यो जतिसुकै लुकाए पनि लुक्ने विषय होइन। हामी नेपाली कुन हदसम्म क्षमाशील छौँ भन्ने कुरा एक-एक गरी यी र यीजस्तै पात्रहरूलाई प्रधानमन्त्री बनाउन चुकेनौँ। त्यसभन्दा पनि अगाडि बढेर नयाँ शक्ति नेपालका कल्पनाकार बाबुराम भट्टराई त एउटा समयमा संसद्विनाको कार्यकारी प्रमुख हुनेसम्मको दुस्साहस गर्न तयार भए। त्यसले निरन्तरता पाएको भएदेखि लोकतन्त्रको लागि नेपालले गरेको झन्डै ६० भन्दा बढी वर्षको संघर्ष यत्तिकै समाप्त पार्ने हदसम्मको दुस्साहसमा नओर्लेका होइनन्।
 
अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल 'बेनेभोलेन्ट डिक्टेटर' का रूपमा उपस्थित हुन आतुर भएका देखिन्छन्। अर्का कम्युनिस्ट नेता खड्ग ओली त्यत्रो ठूलो जनआन्दोलन त होइन, हत्या, हिंसाबाटै जन्मिएका नेता हुन्।
 
यिनीहरूका लागि लोकतन्त्र, नागरिक हक अधिकार र नागरिक स्वतन्त्रताका कुरा यी सबै सुहाउने विषय होइन। समृद्धि भन्ने शब्द त सामान्यतः यिनीहरूको शब्दकोशभित्र पर्ने विषय हुँदै होइन। न त माक्र्सको, न लेनिनको, न स्टालिनको न त माओत्से तुङ नै यी कोही पनि समृद्धिको लागि लागेका मान्छे पनि होइनन् र यिनीहरूबाट समृद्धिको उच्चारण सामान्यतः स्वाभाविक पनि होइन।
 
नयाँ शक्ति नेपाल दोहोर्याएर भन्छ। हिजो उसले सरकारसमक्ष राखेका चालीसबुँदे मागभन्दा अहिले फरक छैन, कार्यदिशा र कार्ययोजना मात्रै फरक हो। नेत्रविक्रम चन्दभन्दा बाबुराम कुन अर्थमा फरक छन् भन्ने कुरा नेपालीले बुझ्ने कसरी, शैक्षिक पृष्ठभूमि दुइटाको फरक-फरक हुनसक्छ। 
 
त्यसो त बाबुराम, प्रचण्ड र खड्ग ओलीको फरकै थियो। कुनै बेला क्युबाको एकजना मन्त्री नेपाल आउँदा ती मन्त्रीले पनि कम्युनिस्ट शासनकालमा ठूलो स्वागत पाएकै हुन्। अहिले क्युबा र अमेरिकाका बीचमा सम्बन्ध सुधार भइसकेपछि अब क्युबाका मन्त्रीले कति ठूलो स्वागत पाउँछन्, त्यो भन्न कठिनै छ।
 
 नेपालमा भर्खरै आएको लोकतन्त्रमा चिनियाँ अधिकारीहरूबाट जस्तो भनौँ माओत्से तुङ, चाउ एन लाईले नेपालप्रति देखाएको सद्भाव विश्वेश्वरप्रसाद कोइरालाको पालामा जस्तो उचाइ अहिले कुनचाहिँ नेताले राख्न सकेका छन्, नेहरूसित होस् वा माओ, चाउसित होस्। 
त्यसबेलाको हाम्रो सम्बन्धले यथार्थमा नेपलालाई विशाल बनाउँछ र देखाउँछ पनि। अहिले सैद्धान्तिक अर्थमा त्यसबेला जुन डेमोक्रेटिक सोसलिजमको सोचले जुन मान्यता विश्वव्यापी रूपले पायो। त्यो वैचारिक धरातल गुमाएका आजको राजनीतिक दल या तिनका नेताले पाउन सक्ने अवस्था छैन।
नयाँ शक्तिले आफूलाई राजनीतिमा जसरी स्थापित गर्छु भने पनि यसमा न कुनै नयाँ कुरो छ न यस पक्षमा लाग्नेहरूको कुनै त्यत्रै गम्भीर सोच। कम्युनिस्ट पार्टीहरूको भविष्य आगामी निर्वाचनले स्पष्ट रूपले देखाउने नै छ, पचासौँ दलहरू जो मुलुकमा छन्, तिनले राजनीतिक अस्थिरताको लागि केही गर्नुबाहेक कुनै सकारात्मक भूमिकाको लागि केही गर्छन् जस्तो छैन।
नयाँ सोच, नयाँ चिन्तन अब जन्मिने कुनै पनि दलबाट आउँछ भन्ने विश्वास नेपालीलाई छैन। नयाँ शक्ति भनौँ या माओवादी केन्द्र भनौँ एउटै विचारबाट आफ्नो राजनीतिक अहंकारका कारण छुटिट्टएका दुई दल हुन्। भाषा शैलीले आफूलाई बेग्लै देखाउन खोजे पनि नयाँ दृष्टिकोण भने कसैबाट आउन सकेको छैन। 
 
मुलुकमा विद्यमान कति दल छन् भन्ने कुराको स्पष्ट लेखाजोखा पंक्तिकारसँग छैन तर दलैपिच्छे बेग्लै वाद हुन सक्दैन भन्ने स्पष्ट बुझेको छ। कुन वादको प्रतिनिधि पात्र हुन् बाबुराम या उनको कुनै नयाँ वाद छ या त्यस्तो वादको दार्शनिक हुन् भन्ने कुरा केही देखिँदैन। 
 
नयाँ शक्तिको नाममा कतै कसैबाट थोपरिएको विचारका संवाहक या अभियन्ताभन्दा बढी उनलाई केही भन्न सकिने क्षमता उनले देखाउन सकेका छैनन्। उनका क्रियाकलाप र बोलीवचनले हिजो उनले काम गरेको दलबाहेक त्यसभन्दा अगाडि जाने कुनै नयाँ दृष्टि या सोच बनेको देखिँदैन।
 
उनको दलभित्रका मान्छेहरू पनि उनै पुराना कुरा देश सम्प्रदाय, जातीयता, क्षेत्रीयता, धार्मिक आस्थाको आधारबाहेक अरू कुनै नयाँ चिन्तन ल्याएको देखिँदैन।
समृद्धि भन्ने शब्दलाई राजनीतिमा सजिलोसित उठाउन त सकिन्छ, तर राज्यवादी सोच भएकाहरूले यी कुरा गर्नु नितान्त निरर्थक हुन्। 
 
समृद्धि यथार्थमा व्यक्तिको प्रयत्नको फल हो। यसमा राज्यको भूमिका नितान्त न्यून हुन्छ। माक्र्सवादीहरू जहिले पनि बलियो राज्य र कमजोर व्यक्तिको पक्षमा हुन्छन्। राज्यले समृद्धि ल्याउने भएदेखि चिनियाँ क्रान्तिपछिको माओले समृद्धि पाइसकेका हुन्थे। 
 
उत्तरकोरियाको नाति राजा समृद्धशाली राज्यमा परिणत भइसकेको हुन्थ्यो। फिडेल क्यास्ट्रोद्वारा शासित क्युबा दक्षिण अमेरिकाको सबैभन्दा गरिब मुलुक भएर बस्नु पर्दैनथ्यो। यस्ता धेरै उदाहरण छन्। जसले बुझाउँछ समृद्धि राज्यको जिम्माभित्र पर्ने विषय नै होइन। 
 
समृद्धिका लागि राज्यले व्यक्तिलाई कति सुविधा उपलब्ध गराउन सक्छ, त्यसमा भरपर्ने कुरा हो। विदेशीहरूको काँध चढेर विदेशबाट भित्र्याइएको समृद्धि पनि समृद्धि होइन, केही व्यक्तिको लागि यो लाभप्रद हुन सक्छ। 
 
जस्तो- नयाँ शक्तिकै नेतालाई होला, प्रचण्डलाई होला या वर्तमान प्रधानमन्त्रीलाई होला तर दिगो समृद्धिको बाटो भने त्यो होइन। यो शब्दको लोभलाग्दो किसिमले प्रयोग त सबैले गर्न थालेका छन् तर यो शब्दभित्रको दर्शन त्यति सहज भने छैन। 
 
यसका लागि कठोर अलोकप्रिय पनि हुन सक्नुपर्छ। त्यसो त प्रचण्डले 'बेनेभोलेन्ट डिक्टेटर' भनेकै छन्, तर यो शब्दको उत्पत्तितिर पनि उनी जान सक्नुपर्छ। मलेसिया, सिंगापुर, भियतनाम आदि मुलुकको कुरो गर्नेले त्यहाँ कुन हदसम्मको नरसंहार भएको थियो भन्ने पनि बुझ्न सक्नुपर्छ। त्यस्तै नरसंहार हामीले नेपालमा पनि गरेका हौँ। त्यसकारण हामीसित बेनेभोलेन्सी पनि छ र डिक्टेटर हुन त हामीले जानेकै हौँ भन्ने मानसिकतालाई यो एक्काइसौँ शताब्दीले स्वीकार गर्न सक्दैन।
 
समृद्धि र वैयक्तिक स्वतन्त्रता सँगै लैजाने सोच कसैसित छैन भने उनीहरू यस्तै उदाहरण खोजेर हिँड्छन्। किनभने उनीहरूसित मौलिक चिन्तन नै छैन।
मुलुक यस्तै एउटा वैचारिक भुमरीमा अल्झिएको छ, जहाँ नितान्त र परम्परागतभन्दा नयाँ सोचको विकास हुन सकेको छैन। 
 
न राजनीतिकर्मी न राजनीतिशास्त्री दुवैसित हाम्रो मुलुकको यथार्थ बुझेर, हामीकहाँ राजनीतिक व्यवस्थाको खाँचो छ भनेर बुझ्न कोही तयार छैनज्। ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिले बनाएको संविधान आज कार्यान्वयनको संकटमा छ। एउटा दुइटा दल सरकारमा सम्मिलित भएदेखि संविधान कार्यान्वयन सहज हुन्छ भन्नु पनि एक प्रकृतिको दृष्टिदोष हो। जसले यो संविधानको खाका निर्माण गरे त्यसैबेला सोच्नुपर्नै केही कुरा थिए। 
 
यो संविधान कति हदसम्म जनताको पक्षमा छ र छैन भन्ने त्यसैबेला एउटा निक्र्योलमा पुग्न सक्नुपर्ने थियो। त्यसो हुन नसक्दा पनि सूक्ष्म दृष्टिले जनभावनालाई यो संविधाले कति प्रतिनिधित्व गर्दछ भन्ने कुरो बुझ्न गाह्रो थिएन। 
 
साँस्कृतिक क्रान्तिको त्यस्तो डरलाग्दो रूपमा प्रस्तुत भएको चीनले पनि आज लुम्बिनीलाई त्यतिठूलो महत्वका साथ हेर्नुपर्ने अवस्था आयो। हिन्दुत्वकै नाममा संगठित भएको भारतीय जनता पार्टी आज पूर्ण बहुमतका साथ भारतको नेतृत्व गर्दैछ।
 
हामीलाई मात्रै यति उत्ताउलोपनका साथ धर्म निरपेक्षता जस्तो शब्दको प्रयोग नै किन गर्नुपरेको हो। कांग्रेसकै कुरो गर्ने हो भने पनि आर्थिक, धार्मिक, वैयक्तिक तथा राजनीतिक स्वतन्त्रतालाई उसले २००३ सालदेखि उचाल्दै आयो र अहिलेसम्म पनि नेपालको प्रमुख दलहरूमा उसको स्थान सुरक्षित राख्न ऊ कहिल्यै चुकेको छैन। 
 
खुब नयाँ सोच र चिन्तन ल्यायौँ भने दलहरूको अवस्था आफैँ पनि देखिन्छ। यसै पनि एकीकृत नेकपा माओवादी अब नेकपा माओवादी केन्द्रका रूपमा आफूलाई पहिचान दिन खोजे पनि यो एउटा बरफको ढिक्का भएको छ। जो विस्तारै पग्लिँदै जाँदैछ। 
 
नयाँ शक्तिले आफूलाई राजनीतिमा जसरी स्थापित गर्छु भने तापनि यसमा न कुनै नयाँ कुरो छ न यसको पक्षमा लाग्नेहरूको कुनै त्यत्रै गम्भीर सोच। कम्युनिस्ट पार्टीहरूको भविष्य आगामी निर्वाचनले स्पष्ट रूपले देखाउने नै छ, पचासौँ दलहरू जो मुलुकमा छन्। तिनले राजनीतिक अस्थिरताको लागि केही गर्नुबाहेक कुनै सकारात्मक भूमिकाको लागि केही गर्छन् जस्तो छैन।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame